नेकपाको एकता कार्यदल विघटन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताको खाका तयार पार्न गठन गरेको कार्यदल विघटन भएकाे छ ।
पार्टी सचिवालयको आज बिहान बसेको बैठकले म्याद थप नगर्ने निर्णय गरेपछि कार्यदल स्वतः विघटन भएको हो ।
एकता सम्बन्धी बाँकी काम अब पार्टी केन्द्रीय सचिवालयले गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
"सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिने निर्णय गर्यो" श्रेष्ठले सञ्चारकर्मीसंग भने "अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।"
पार्टीका जनवर्गीय संगठन, मोर्चा, विभाग र बाँकी रहेका कमिटीहरुको एकता टुङ्ग्याउन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो।
संयोजक थापाले ९ फागुनको सचिवालय बैठकमा प्रतिवेदनका लागि एक साता समय माग गरे पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।