गण्डकी मेडिकल कलेजमा छानबिन गरिने
विद्यार्थीसँग बढी शुल्क असुलेको आरोप लागेको पोखरास्थित गण्डकी मेडिकल कलेजबारे नेपाल मेडिकल काउन्सिलले छानबिन थाल्ने भएको छ ।
अनुसन्धानका लागि आज काउन्सिलले स्थलगत अध्ययन टोली गठन गरेको छ । टोलीमा डा. कालुसिंह खत्री, विश्वराज दवाडी र सुनिलकुमार शाह छन् । उनीहरु भोलि, १० फागुनमा पोखरा जानेछन् ।
बुधबार मात्र डा. गोविन्द केसीले ‘गण्डकी मेडिकल कलेजको कर्तुतबारे सरकार मौन बसेको’ भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले विद्यार्थीका समस्या समाधान नगरे जुनसुकै बेला अनसन बस्ने चेतावनी पनि दिएका छन् ।
काउन्सिलको अध्ययन टोलीले शुक्रबार र शनिबार गण्डकी मेडिकल कलेजको भ्रमण गर्नेछ । टोलीकै प्रतिवेदनका आधारमा काउन्सिलले निर्णय गर्ने बताइएको छ ।
एमबीबीएस तहमा सरकारले तोकेकोभन्दा बढी रकम असुलेको भन्दै कलेजका विद्यार्थीले १७ माघदेखि आन्दोलन थालेका थिए ।
अहिले विद्यार्थीहरु कलेजमा तालाबन्दी गरेर रिले अनसन गरिरहेका छन् । कलेजको पठनपाठन ठप्प छ ।
गण्डकी मेडिकल कलेज प्रशासनको ‘लुट’ र जारी विद्यार्थी आन्दोलनबारे परीक्षाको मुखमा गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित शीर्षकमा समाचार प्रकाशित भइसकेको छ ।
रामु सापकोटा