डीपीएलः अविनाशको घातक ‘डेथ ओभर’, रुपन्देही स्तब्ध
अविनाश बोहराको चलाखीपूर्ण ‘डेथ ओभर’ले खेलको पूरै समीकरण बदलेपछि मात्र एक रनको अन्तरले महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि होडमा कायम रहन सफल भएको छ ।
जीतका लागि ६ बलमा मात्र पाँच रन आवश्यक भएका बेला बलिङमा आएका बोहोराले आफ्नौ चौथो बलमा प्रदीप ऐरीलाई रनआउट, पाँचौं बलमा बिक्रम सोबलाई क्याचआउट र अन्तिम बलमा कप्तान बसन्त रेग्मीलाई रनआउटको शिकार बनाएका थिए । रुपन्देहीले ९ विकेटको नोक्सानीमा ११४ रनमात्र बनाउन सक्यो ।
यी यिनै बोहरा हुन् जसले यसैं फेब्रुअरीमा भएको नेपाल र युनाइटेड अरब इमिरेट्सबीचको टि–ट्वेन्टी खेलमा सनसनी मच्चाउँदै ‘प्लेयर अफ द सिरिज’को उपाधि जितेका थिए ।
यसअघि महेन्द्रनगरले निर्धारित २० ओभरमा नौं विकेटकै क्षतिमा ११५ रनमै सिमित भएको थियो । महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले ३८ बलमा २९ रन बनाए भने सुब्रमण्यम् आनन्दले १३ बलमा २० रनको योगदान दिए । अमर रौटेलाले १९ र मोहम्मद नाभेदले १८ रन जोडे ।
रुपन्देहीका ललितसिंह भण्डारीले चार विकेट झारे । पूनित मेहराले तीन र बसन्त रेग्मी दुई विकेट लिएका थिए ।
बलरले स्थिती सहज पारे पनि रुपन्देहीका ब्याट्समेन आफ्नो भूमिकामा जम्न सकेनन् । ओपनर बाबर हयातले २९ बलमा २८ रन बनाएर आउट भएपछि धर्मरिएको इनिङलाई विनोद भण्डारी र प्रदीप ऐरीले ३७ रनको साझेदारी गरेपछि टिम विजयको मुखमा पुगेको थियो । विनोदले २३ र प्रदीपले २८ रन बनाए ।
महेन्द्रनगरका लागि अभिनाशले दुई, मोहम्मद नाभेद, सिद्धान्त लोहनी र सागर ढकालले एक, एक विकेट लिए । ‘म्यान अफ द म्याच’ अभिनास नै भए ।
फाइनल प्रवेशका लागि शुक्रबार महेन्द्रनगरले काठमाडौं गोल्डेन्सको सामना गर्नेछ । यसअघि पहिलो चरणको खेलमा काठमाडौंले महेन्द्रनगरलाई सात विकेटले हराएको थियो ।
विजेताले शनिबार सीवाईसी अत्तरियासँग उपाधिका लागि भीडन्त गर्नेछ ।