राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति
प्रधानसेनापति पूर्णचन्द्र थापाले राम्रो कामका लागि लिखित आदेश नपर्खन कमाण्डरहरुलाई निर्देशन दिएका छन् ।
खोटाङको दिक्तेलमा रहेको बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम बनाउन उच्च मनोबलका साथ काम गर्न क्याडरहरुलाई निर्देशन दिएका छन् ।
“गल्ती हुन्छ भनेर काम नगर्ने कमाण्डर होइन, सङ्गठनलाई चुनौतीको सामना गर्ने गणपति आवश्यक छ,” उनले भने “सही नियतबाट भएको गल्ती सुधार्न सकिन्छ, राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन ।”
प्रधानसेनापति थापाले सेनालाई अनुशाशित रुपमा काम गर्न पनि निर्देशन दिँदै सेनाका सात लक्ष्य र १५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा भने दायाँबायाँ नहुने बताए ।
उनले हतियार र उपकरण खरीद, शान्ति सेना भर्ना छनोट, बढुवालगायतका विषयलाई पारदर्शी तुल्याउने प्रतिवद्धता व्यक्त गरे ।
सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सेनाले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्ने भन्दै उनले राष्ट्र, जनता र सेनाको हितका खातिर गौरव गर्ने ढङ्गबाट जिम्मेवारी सम्हाल्न निर्देशन दिए । - रासस