एमालेले संशोधनको औचित्य छैन भनेपछि तीन दल बैठक निष्कर्ष विहिन
संविधान संशोधनका विषयमा सहमति जुटाउन बसेको तीन दलको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशहरुको सीमांकन, राष्ट्रिसभाको गठन र प्रतिनिधित्व, नागरिकता, भाषा आयोग लगायतका विषयमा सहमति गर्न प्रस्ताव गरेका थिए ।
एमाले नेताहरुले ती विषयमा संशोधन गर्नुको औचित्यबारे सत्तारुढ दलहरु नै स्पष्ट नभएको र मधेशी मोर्चा पनि सहमत हुननसक्ने अवस्थामा सहयोग गर्न नसकिने बताएपछि बैठकमा कुनै सहमति हुन नसकेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधान तथा गृहमन्त्री निधिले भने, "सत्ता पक्षको तर्फबाट हामीले संविधान निर्माणका सहयात्री तिनै दल मिलेर संविधान संशोधन र निर्वाचनमा जाऔं भन्ने प्रस्ताव राख्यौं । तर, एमाले पार्टी संविधान संशोधनमा तयार नभएका कारण अब मधेशी मोर्चासँग समेत छलफल गरेर अगाडि बढ्छौं ।"
यसैगरी माओवादी केन्द्रका नेता वर्षामान पुनले संविधान संशोधन र निर्वाचनमा प्रमुख दलहरु मिलेर जाने प्रतिवद्धताबाट एमाले पछि हटेकाले सहमति हुन नसकेको बताए ।
नेता पुनले भने, ‘हामीले संविधान निर्माणका सहयात्री दलहरु मिलेर संविधान संशोधन र निर्वाचनमा सँगै जान प्रस्ताव राख्यौं । नेकपा एमालेका नेताहरु केही दिन अघिसम्म संविधान संशोधनमा मिलेर जान तयार हुनुहुन्थ्यो । तर, आजको बैठकमा उहाँहरुले आफ्नो पोजिसन बदल्नुभयो । सहमतिमा नआउने परिस्थितिमा मधेशी मोर्चासँग छलफल गरेर सरकार प्रक्रियामा अगाडि बढ्छ ।"
त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेको तर्फबाट संविधान संशोधनको औचित्य नभएको कुरा प्रष्ट रुपमा राखेको जानकारी दिए ।
रावलले भने, ‘प्रधानमन्त्रीले संविधान संशोधनमा मिलेर जान प्रस्ताव राख्नुभयो । मधेशी मोर्चासमेत तयार नभएको र संविधान संशोधनको औचित्य नभएका कारण हामीले सरकारलाई संविधान संशोधन प्रस्ताव अघि नबढाउन भनेका छौं ।"
प्रधानमन्त्री पुषपकमल दाहालले सीमाङ्कनमा विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले अघि सारेको साझा प्रस्तावको वरिपरि रहेर सहमति खोज्न प्रस्ताव गरेका थिए ।
साँझ पाँच बजेबाट शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, मन्त्री रमेश लेखक, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षामान पुन लगायतका नेताहरु सहभागी थिए ।