अष्ट्रेलियाबाट विद्यार्थी उद्धार गर्न काँग्रेसको माग
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धारका लागि तत्काल पहल गर्न सरकारसंग माग गरेको छ ।
बिचल्लीमा परेका एक हजारभन्दा बढी विद्यार्थीको उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न पनि काँग्रेसले माग गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरिरहेकोमा अनुगृहित भएको तर विद्यार्थी बिलल्लीमा पार्नु दुःखत भएको बताएका छन् ।
‘शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ” विज्ञप्तिमा भनिएकाे छ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न निर्देशन गरिएको विज्ञप्तीमा जनाईएको छ ।