सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण गरिने
सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधारका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले रु छ करोड ४० लाख विनियोजन गरेको छ ।
एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिए । चालू आर्थिक वर्षको असार मसान्तसम्म खेलमैदान निर्माणकार्य सम्पन्न गरिसक्नु पर्नेछ ।
सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १०, कञ्चनपुरमा छ, अछाममा चार, बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ र बाजुरामा दुई/दुई खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अछामका चार प्रदेश निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुनेछन् । – रासस