मुहान सुकेपछि खानेपानीको हाहाकार
– गङ्गा पराजुली
चुरे क्षेत्रका पानीका मुहान सुकेपछि दक्षिणी इलामको दुई स्थानीय तह माई नगरपालिका र चुलाचुली गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीको समस्यामा परेका छन् ।
वर्षौँदेखि उपभोग गर्दै आएको पानीको स्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दा खोला किनार तथा खेतमा ट्युवेल, इनार बनाई वर्षातमा धमिलो र हिउँदमा बालुवासहितको पानी प्रयोग गर्न बाध्य छन् । आयस्रोत राम्रो हुनेले ट्युवेल र इनारको पानी मोटरबाट घरमै तान्ने भएपनि नहुनेले खोला किनार धाउने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताए ।
चुरे क्षेत्रमा जङ्गल फँडानी, अव्यवस्थित बसोबास, विकास निर्माण र अतिक्रमणका कारण पानीका मुहान सुकेको महमाईका देवीभक्त कुमालको भनाई छ ।
विद्यालयहरुमा पनि खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाइमा समस्या भएको माई नगरपालिकाका दीपक थेवेले बताए । विद्यालय परिसरमा खानेपानी नभएकै कारण कन्काइ उच्च मावि, दीपज्योति प्रावि, महमाईको वीरेन्द्र निमाविलगायतका विद्यालयका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य छन् ।
कन्काइ उच्च माविका शिक्षक खेमराज लिम्बूका अनुसार विद्यालयले गाउँबाट खोजेर एक गाग्री पानी ल्याए पनि हिउँदमा समस्या भएको छ । “पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनःकक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्छ ” - उनले भने ।
चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास भए पनि दीर्घकालसम्म पानी हुने मुहान नहुँदा खानेपानी आयोजना अलपत्र छन् ।
साविक दानाबारी गाविसको २, ३, ४, ५ र ७ नं वडालाई समेट्ने गरी झण्डै दुई दशकअघि एसियाली विकास बैंकको सहयोगमा रु एक करोड ६७ लाख लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका ४२२ मध्ये अहिले ८/१० धारामा मात्र मुस्किलले पानी आउँछ । आयोजनाको धेरैजसो धारा भत्किएका छन् ।
साविक दानाबारीको–३ को गङ्टे–९ मा खोलाछेउको ट्यूवेलमा पनि सहजै पानी नआउने स्थानीय कमल भण्डारीले बताए । “पहिले खोला किनारका गाउँमा १० फिट जति खन्दा पानी निस्कन्थ्यो अहिले २५÷३० फिट खन्नुपर्छ”- उनले भने ।
खानेपानी लिन घण्टौँ धाउनुपर्ने र पालो कुर्नुपर्ने चुलाचुली गाउँपालिका आइतबारेका नरमाया बुढाथोकीले बताईन । गाईवस्तुलाई पानी खुवाउन निकै समस्या छ । - रासस