लगानी सुरक्षामा गम्भीर प्रश्नः छायाँ सेन्टर
काठमाडौंमा सञ्चालनमा आएको मुलुककै ठूलो र आधुनिक मानिएको व्यापारिक कम्प्लेक्स, छायाँ सेन्टरका सञ्चालकहरुले व्यवसायीले जोखिम मोलेर गरेको लगानीको सुरक्षामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले देशभित्रकै निजी लगानीलाई सुरक्षाको प्रत्याभूति नभए विदेशी लगानी भित्र्याउन थप कठिन हुने गुनासो समेत गरे ।
पर्यटकीय गन्तव्य ठमेलमा करिब ६ बर्ष लगाएर निर्माण भएको बहुउद्धेश्यीय छायाँ सेन्टर दुइ महिनाअघि मात्र सञ्चालनमा आएको हो । सेन्टरमा २०० वटा पसल, २०० कोठासहितको पाँचतारे होटल, तीनवटा सिनेमा हल, फूडकोर्ट, ब्यांक्वेट हल, कन्फ्रेन्स हल, २०० भन्दा बढी गाडी पार्किंग गर्न सकिने स्थल लगायतका सुविधा छन् ।
सञ्चालकहरुको दाबीअनुसार मिनि ठमेल भनिएको यो सेन्टर विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले बनाइएको हो । अहिलेसम्म रु.५ अर्ब लगानी भइसकेको र निर्माण सम्पन्न हुँदासम्म साढे पाँच अर्ब लगानी पुग्ने सञ्चालकहरुको दाबी छ ।
तर, सञ्चालनमा आएलगत्तै अर्बौं लगानी गरिएको सेन्टरमाथि नियोजित आक्रमण शुरु गरिएको भन्दै सञ्चालकहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा सेन्टरका सञ्चालकमध्येका सुमन पाण्डेले सरकारी कागजात र अदालतका निर्णयमा विश्वास गरेर निर्धारित विधि र प्रक्रियाअनुसार गरिएको लगानीमाथि रहस्यमय तरिकाले आक्रमण भइरहेको दाबी गरे ।
ठमेलको १२ रोपनी ११ आना जग्गामा सेन्टर निर्माण भएपछि एक समूहले सो ठाउँमा पहिले सार्वजनिक पोखरी रहेको, त्यसको स्वामित्व गुठीमा रहेको र पोखरी कब्जा गरेर सेन्टर निर्माण गरिएको भन्दै विरोध गरिरहेको छ । यससम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।
सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले त्यो ठाउँमा पहिले पोखरी रहेको र त्यसको स्वामित्व गुठीको रहेकोमा कुनै विवाद नरहेको भन्दै गुठीबाट रैतान भएर व्यक्तिको नाममा नामसारी भइसकेको जग्गा किनेर यो प्रोजेक्ट शुरु गरिएको बताए ।
जग्गा किनिसकेपछि वातावरणीय प्रभाव मूल्यांकन, सँधियारको सहमति लिन र महानगरपालिकाबाट नक्सापास गर्न ६ बर्ष लागेको, त्यतिञ्जेलसम्म कसैले पनि यसको विरोध नगरेको र निर्माण भइसकेपछि विरोध हुनु रहस्यमय भएको बताए ।
अदालतको निर्णयअनुसार र निर्धारित कानूनी प्रक्रिया पुरा गरेर गरिएको लगानी संकटमा पार्ने प्रयास भइरहेको दाबी समेत उनले गरे ।