नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग
नेपाल विद्यार्थी सङ्घकाे विगठित कार्यसमितिले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ ।
विगठित समितिका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका हुन् ।
‘विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,’ उनले भने ।
तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो । विगठित समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप लगाए ।
विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो ।