एकीकरण प्रक्रिया टुङ्ग्याउन नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
तल्लो तहसम्मका संगठनको एकीकरण प्रक्रिया टुङ्ग्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भईरहेको नेताहरुले बताएका छन् ।
गएको जेठ ३ गते पार्टी एकताको घोषणा गरेको नेकपाले तीन महिना भित्र एकीकरणका प्रक्रिया टुङ्ग्याउने भनेपनि ९ महिनासम्म टुंगो लगाउन सकेको छैन । राजनीतिक प्रतिवेदन र विधानको विषयमा समेत विवाद छ ।
बैठकले गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलको संयोजकत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन माथी छलफल गरी तल्लो तहसम्मका संगठनको एकताका विषयमा निर्णय गर्ने बताईएको छ ।
आजको बैठकमा एकताको बाधकको रुपमा रहेको नेताहरुको दोहोरो जिम्मेबारी, केन्द्रीय सदस्यको कार्यविभाजन, लगायतका विषयमा पनि छलफल हुने नेकपाले जनाएको छ ।