डीपीएलः काठमाडौं शीर्षस्थानमा, रुपन्देहीको बिर्सनलायक प्रदर्शन
तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल)मा रुपन्देही च्यालेञ्जर्सले काठमाडौं गोल्डेन्स्सँग एक सय रन अन्तरको लज्जास्पद पराजय भोगेको छ ।
टस जितेर ब्याटिङ गरेको काठमाडौंले ७ ओभरको क्षतिमा १३३ रनको सामान्य योगफल बनाएको थियो । काठमाडौंका लागि एकपटक फेरि अमित डबासले जित दिलाए । उनले टिमका लागि सर्वाधिक ४३ रन र एक विकेट लिए । अनिल साहले पनि २३ रन जोडे ।
रुपन्देहीका लागि विक्रम सोब, पूनित मेहरा, अनिल खरेल दुई, दुई र ललितसिंह भण्डारीले एक विकेट लिए ।
उता रुपन्देही १५.१ मा ३३ रनमै खुम्चियो । रुपन्देहीका कुनै पनि खेलाडीले ५ रनभन्दा बढी रन बनाउन सकेनन् । डीपीएलको यो संस्करणमा कुनै पनि टिमको यो सबैभन्दा बढी रनको पराजय हो ।
रुपन्देहीलाई धरासायी बनाउन सर्लाहीका नन्दनकुमार यादवले तीन विकेट लिए । ललितनारायण राजवंशी र सूर्य तामाङ दुई, दुई विकेट हत्याए भने अमित डबास र योगेन्द्रसिंह कार्कीले एक,एक विकेट लिए । प्लेअर अफ द म्याच फेरि पनि अमित डबास नै भए ।
वर्षाका कारण ६ ओभरमा छोट्याइएको आइतबारकै पहिलो खेलमा यसअघिको खेलमा महेन्द्रनगर युनाइटेडले पहिलो जीत आत्मसात गर्यो । महेन्द्रनगरले सीवाईसी अत्तरियालाई ७ विकेटले पराजित गर्याे ।
अत्तरियाले पाँच ओभरमा ५४ बनाएको थियो । जसमा सन्नी पटेलले १९ रनको योगदान दिए । बलिङतर्फ महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले दुई, दुई र शरद भेषवाकरले एक विकेट लिए ।
जवाफमा महेन्द्रनगरले ५.४ ओभरमै सब्रमण्यम यादव र आरिफ शेखले क्रमशः१९ र १५ रन बनाए । अत्तरियाका तर्फबाट भुवन कार्कीले दुई र दिपेन्द्र रावतले एक विकेट लिए । एकै ओभरमा दुई विकेट लिएका सागर प्लेयर अफ द म्याच बने ।
आइतबारको जितसँगै काठमाडौं चार खेलमा तीन खेल जित्दै ७ अंकका साथ शीर्षस्थानमा छ । डिफेन्डिङ च्याम्पियन धनगढी प्रतियोगीताबाट बाहिरिसकेको छ भने बाँकी टिमको चार चार अंक छ । प्रतियोगीतामा महेन्द्रनगरले सबैभन्दा बढी पाँच खेल खेलिसकेको छ भने अत्तरियाले मात्र तीन खेल खेलेको छ । बाँकीले चार, चार खेल खेलेका छन् ।