काठमाडौं विश्वको पाँचौं उत्कृष्ट घुम्नलायक शहर
विश्वका घुम्नलायक उत्कृष्ट दश शहरको सुचिमा काठमाडौं परेको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरमध्ये नेपाललाई उत्कृष्ट पाँचाैमा राखेकाे हाे ।
प्लानेटले पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी,पाँचाैमा काठमाडौं, छेटौँमा मेक्सिकोको मेक्सिको शहर, सातौँमा सेनेगलको डाकार, आठौँमा अमेरिकाको सिएटल, नवौँमा क्रोएशियाको जदार र दशौँमा मोरक्कोको मेक्नेसलाई घुम्नलायक उत्कृष्ठ दश शहरमा समावेश गरेको छ ।
विसं २०७२ को ‘गोरखा भूकम्प’ले क्षति पुर्यएका पूरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको र धेरै जसो पुनःनिर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौं घुम्नलायक शहरको रुपमा रहेको उक्त संस्थाको ठहर छ ।
मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय भरपर्दो बिजुली सेवा, वाईफाईको सुविधाले पनि काठमाडौंलाई घुम्न लायक बनाएको विवरणमा उल्लेख छ ।
काठमाडौंमा हर्नको समस्या हटेकोले ध्वनि प्रदुषण रोकेर काठमाडौंलाई दशकौं यताकै बस्न योग्य बनाइएको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।
सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल पु¥याएको छ ।
ट्रेकिङ् एजेन्ट्स एसोशिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले विश्व प्रसिद्ध पर्यटनसम्बन्धी जानकारी दिने लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१९ को घुम्नलायक उत्कृष्ट दश शहरमा राख्नु नेपाल र नेपालीका लागि खुसीको विषय भएको बताए ।
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न यस्ता विषयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने बताइरहेको बेला काठमाडौं उपत्यकामा बाँकी रहेको पुनःनिर्माण, ट्राफिक जाम तथा अन्य केही समस्या भने समयमै हटाउने तर्फ पहल गर्नुपर्ने बताए ।
पर्यटकको सङ्ख्या मात्रै बढाउने नभई गुणस्तरीय पर्यटनमा समेत जोड दिएको सन्दर्भमा विश्व प्रसिद्ध संस्थाहरुको घोषणा सकारात्मक हुने अध्यक्ष दाहालको भनाई छ । -रासस