‘इन्डो–प्यासिफिक नेपालको हितमा’
दक्षिण एसिया र खासगरि भारतीय विदेश नीतिका अध्येता कन्सटान्टिनो हाभियरले इन्डो–प्यासिफिक अवधारणामा सहभागी हुनु नै नेपालको हितमा रहेको बताए ।
‘के नेपाल इन्डो प्यासिफिक अवधारणाको अङ्ग हो ?’ विषयमा ललितपुरकस्थित यलमाया केन्द्रमा शनिबार आयोजित कार्यक्रमका मुख्यवक्ता हाभियरले नेपाली राजनीतिले अँगालेको मूल्यमान्यता र इन्डो प्यासिफिक अवधारणा मेल खाने भएकाले पनि यसबाट विमुख हुन नहुने तर्क गरे ।
“नेपाल इण्डो प्यासिफिकको अङ्ग हुनु भनेको सार्क राष्ट्रको सदस्य हुनुजस्तै छ, बिम्स्टेकको हुनुजस्तै हो, चीनको बेल्ट रोड इनिसियटिभमा हस्ताक्षर गर्नु जस्तै हो”, भारतको ब्रकिङ्स इण्डियाका फेलोका रुपमा कार्यरत् हाभियरले भने, “यो विशेष सम्बन्ध भएको भारतसँग सन्तुलित सम्बन्ध राख्ने रणनीतिक अवसर पनि हो ।”
बीपी कोइराला नेतृत्वको नेपालको पहिलो जननिर्वाचित सरकारले पनि ‘खुला द्वार’ विदेश नीति अपनाएको, टंकप्रसाद आचार्यले चीन र तत्कालिन सोभियत युनियनसँग कुटनीतिक सम्बन्ध स्थापित गरेको लगायतका प्रसंग स्मरण गराउँदै हाभियरले विदेश नीतिमा विविधीकरण नेपालको आवश्यकता भइसकेको बताए ।
छिमेकी नेपाल, श्रीलंका र म्यान्मारसँग भारतको व्यवहारबारे पुस्तक समेत लेखिरहेका हाभियरले ‘भारतबाट केही पाउन चीनतर्फ पाइला चाल्नुपर्ने’ स्थितीबाट नेपाल बाहिर निस्कनैपर्नेमा जोड दिए । कुनै बेला नेपाल भारतप्रति पूर्णरुपमा र त्यसपछि भारत र चीनप्रति दुवैसँग निर्भर देखिएको उल्लेख गर्दै उनले इण्डो प्यासिफिकले नेपाललाई सबै राष्ट्रसँग बराबरी सम्बन्ध राख्ने ढोका खोल्ने दाबी गरे ।
“श्रीलंकाले दशकौंसम्म भारतसँग दूरी राख्यो, र भारतबाहेकका देशसँग सम्बन्ध अघि बढायो, अहिले बल्ल श्रीलंकालीहरु उल्टो भारतलाई तिमीहरु कहाँ थियौं र के गरिरहेका थियौं भनि प्रश्न गर्दैछन्”, हाभियरले भने, “परराष्ट्र सम्बन्ध समदूरीमा हुँदैन भन्ने कुरा बुझ्नैपर्छ ।”
इण्डो प्यासिफिक कुनै संस्था र बीआरआईजस्तो संस्था नभएर अवधारणा मात्र भएको हाभियरको भनाई थियो । मुलुकको लोकतन्त्र, दिगो आर्थिक विकास, सुशासनका लागि समेत इण्डो प्यासिफिकको कनेक्टिभिटी सहयोगी हुने वकालत गर्दै उनले भने, “यो अमेरिका लगायतका राष्ट्रको सुरक्षा रणनीति हो भनेर बुझे हामी गलत हुन्छौं, आर्थिक मुद्दा यसको मुख्य प्राथमिकता हो ।”
हाभियरले अमेरिका, जापान, युरोपेली राष्ट्र, भारतलगायतका देशहरुले दक्षिणपूर्वी एसियामा चीनको बढ्दो प्रभावदेखि तर्र्सिएर इण्डो प्यासिफिकको अवधारणा अघि बढाएको भन्ने प्रश्नको खण्डन गरे ।
“इण्डो प्यासिफिकमा चीन र चीनसँग सम्बन्धित चासोहरुलाई पूरै वेवास्ता गरिएको छ भन्न मिल्दैन”, उनले भने, “तर, चीन द्विपक्षीय सम्झौतामा विश्वास राख्छ तर इण्डो प्यासिफिक बहुपक्षीय कुरा गर्छ, यो को कति खुला छ भन्ने मान्यतामा आधारित छ, ढिलोचाँडो कुरा बुझेर चीन पनि इन्डो प्यासिफिकमा आउनैं पर्छ ।” उनले चीन गएका वर्षहरुमा छिटोछिटो परिवर्तन भइरहेको पनि उनले बताए ।
कार्यक्रम ह्री इन्स्च्यिुट अफ साउथएसियन रिसर्च एण्ड एक्सचेञ्जको आयोजनामा भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कनकमणि दीक्षितले इण्डो प्यासिफिक अवधारणामा नेपाली चासो, चीनलाई नचिढ्याई नेपालले लिनसक्ने लाभ, भारतीय नाकाबन्दी सिर्जित आम नेपाली सोंचबारे हाभियरसँग केही प्रश्न र धारणा र जिज्ञासा राखेका थिए । किरण चापागाईंले हाभियरको परिचय गराएका थिए ।