कला/साहित्यशनिबार, ४ फाल्गुण , २०७५

शहर पसेको दोहोरी

मस्त केसी

विगतमा गाउँका श्रोतामै सीमित लोकदोहोरी गीत प्रविधिको विकास–विस्तारले पछिल्लो समय शहरबजारमा भिज्दै अन्तर्राष्ट्रिय वृत्तमा फैलिएको छ ।

सालको पातको... गीतको भिडियोमा नायिका मरिष्का पोखरेल र गायक कुलेन्द्र विश्वकर्मा ।

भनिन्छ– संगीतको कुनै भाषा हुँदैन । यही भनाइलाई पुष्टि गर्ने गरी सालको पातको टपरी हुनी गीतको यूट्यूब भिडियोमा हानिया बेरीले प्रतिक्रिया लेखेकी छन् ‘म यो भाषा बुझ्दिनँ, तर मलाई यसको संगीत सुनिरहूँ जस्तो लाग्यो ।’ नेपाली भाषा नबुझ्ने बेरीले दिएको प्रतिक्रिया यो गीतको चर्चा र लोकप्रियताको एउटा दृष्टान्त हो । गीतको यूट्यूब भिडियोमा बेरीका जस्तै र अन्य प्रतिक्रिया साढे १० हजार बढी छन् ।

नवराज पन्तको शब्द, वसन्त थापाको संगीतमा विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो पछिल्लो समय सर्वाधिक चलेको लोकदोहोरी गीत हो । १ असोजमा यूट्यूबमा राखिएको उक्त गीतले फागुनको पहिलो सातासम्म तीन करोडभन्दा बढी भ्यूज बटुल्दै लोकदोहोरीमा सर्वाधिक हेरिएको गीतको कीर्तिमान समेत कायम गरेको छ ।

सालको पातको... यति धेरै किन रुचाइयो ? संगीतकार थापा शब्द, स्वर र संगीतको मीठो संयोजनलाई कारण मान्छन् । “लोकदोहोरी भए पनि यो कुनै ठाउँविशेषको संकलन होइन” उनी भन्छन्, “तर ठेट शब्दमा नौलो संगीत दिने प्रयास गर्दा श्रोता–दर्शकले रुचाए ।” मौलिक भेषभुषा सहितको शालीन म्युजिक भिडियो पनि गीतको लोकप्रियताको कारण रहेको उनी बताउँछन् ।

गायक बद्री पंगेनी लोकदोहोरी आज मात्रै नभएर हिजो पनि उस्तै चलेको र आम मानिसले रुचाएको बताउँछन् । “हिजो राम्रो लोकदोहोरीको अडियो क्यासेट लाखौं प्रति बिक्री हुन्थे” उनी भन्छन्, “अहिले प्रविधिको व्यापकता र सञ्चारमाध्यम पर्याप्त भएका कारण चर्चा बढी भएको मात्रै हो ।”

हुन पनि विगतमा सञ्चारमाध्यम सीमित थिए र गीतको चर्चा परिचर्चा गर्न सामाजिक सञ्जाल पनि थिएन । पहिले क्यासेट र सीडी/भीसीडीबाट सुनिने/हेरिने गीत आज प्रविधिको कारण यूट्यूबको प्लेटफर्मबाट संसारभर पुगेका छन् ।

पंगेनीको भनाइमा लोकदोहोरी गीत शहरी क्षेत्रभन्दा बढी गाउँमा सुनिन्छ । अधिकांश लोकदोहोरीले गाउँकै कथा–व्यथा बोल्छन् पनि । तर, गाउँमा सीमित यस्ता गीत प्रविधिको विस्तारले सहजै पहुँच हुने भएपछि शहर–बजारमा मात्र फैलिएको छैन, भौगोलिक सिमाना नाघेर संसारभर पुगेको पंगेनी बताउँछन् । “हिजो अडियो क्यासेटलाई संसारभर रहेका नेपालीमाझ पुर्‍याउन सहज थिएन” उनी भन्छन्, “अहिले इन्टरनेट र प्रविधिको उपलब्धताले जहाँ जसले पनि हेर्न/सुन्न सक्छन् ।”

पुरानै ठीक !
समयसँगै गीत–संगीतको उत्पादन, प्रयोग र प्रचारको शैली पनि फेरिंदो छ । वि.सं २०६० को दशकसँगै नेपाली संगीत क्षेत्रमा उथलपुथल आयो । ६० को दशकको मध्यतिर अडियो क्यासेटको बजार सुक्दै जाँदा सीडी/भीसीडीले पनि केही समय मात्रै धान्यो ।

सांगीतिक अल्बम नबिक्ने अवस्थामा ६० को दशकको अन्त्यदेखि बढेको इन्टरनेटको पहुँचका कारण कलाकार र सर्जकका लागि यूट्यूब सहारा बनिदियो ।

गोरखा महोत्सवमा गायक पुरुषोत्तम न्यौपाने ।

सिर्जना पस्किने मञ्च बनिरहेको यूट्यूब केही वर्षयता गीत मार्फत आम्दानी गर्ने माध्यम बनेको छ । तर, गीत तयार पार्न लाग्ने खर्चका हिसाबले यूट्यूबबाट हुने आम्दानी निकै कम भएको पंगेनी बताउँछन् । “गीतका विभिन्न आयाम नहेरी यूट्यूब भ्यूजका आधारमा गीतको मूल्यांकन गर्नु सर्जकमाथि अन्याय हो” उनी भन्छन्, “सच्चा लोकदोहोरी गीतले स्थानीयपन, लोक आयाम र मौलिकता बोकेको हुन्छ ।” व्यावसायिक हिसाबले अहिलेभन्दा ‘क्यासेट जमाना’ नै कलाकारको लागि उचित रहेको पंगेनीको भनाइ छ ।

झिलझिल सितारा, ऐना हेरेर जस्ता चर्चित गीतका गायक पुरुषोत्तम न्यौपाने अहिले बनिरहेका दोहोरी गीतलाई ‘ठेट दोहोरी’ मान्दैनन् । “दोहोरी गीतले निश्चित कथा र मर्म बोकेको हुन्छ” उनी भन्छन्, “अहिलेका गीतले न कथाको उठान गरेका छन्, न बिट नै मारेका छन् ।”

दोहोरी गीत सवाल–जवाफमा आधारित हुने तथा एउटा कथा र मर्मभित्र बुनिएको हुनुपर्ने तर अहिले बनिरहेका अधिकांश गीतमा त्यो नभेटिने उनको भनाइ छ । दोहोरी गीतको आकार घट्नु यसको एउटा कारण हो ।

पहिले क्यासेटमा ३०–३५ मिनेट गाइने दोहोरी पछिल्लो समय व्यावसायिक बठ्याइँका कारण ७–८ मिनेटमा खुम्च्याइन्छ । यसका साथै कुनै स्थानको भाका संकलन गरेर गाइने लोकदोहोरी कोठाभित्र ‘सृजना’ हुन थालेको छ । गायक पंगेनी यसलाई समयको माग भन्छन् ।

गायक न्यौपाने अहिलेका गीतलाई लोकलयमा आधारित ‘दोहोरी’ भन्न रुचाउँछन् । “लोकलय र स्थानीयपन नहराए पनि ठेट दोहोरी गीत बन्ने क्रम निकै घटिसक्यो”, उनी भन्छन् । उनको बुझाइमा अहिलेका गीत दोहोरीका खास पारखीसम्म पुगेका पनि छैनन् ।

भन्छन्, “क्यासेट ओल्टाई–पल्टाई धीत मरुन्जेल सुन्ने पुस्ताको पहुँचमा इन्टरनेट छैन । उनीहरूले रुचाउने मर्मसहितका गीत पनि थोरै छन् ।” यद्यपि इन्टरनेटकै कारण युवा पुस्ताले पनि लोकदोहोरी सुन्न थालेकोमा भने न्यौपाने खुशी छन् ।

बढेको स्टेज शो र भिडियो
दोहोरी गीत विश्वव्यापी रुपमा सुनिन थालेको उदाहरण हो– देश विदेशमा हुने सांस्कृतिक कार्यक्रममा दोहोरी गायक/गायिकाको माग । यसले कलाकारलाई आर्थिक भरथेग त गरेकै छ, गीतको प्रचारमा पनि सहयोग पु्‍र्‍याएको छ । स्टेजमा सुनेको गीत मन परेपछि खोजीखोजी सुन्ने/हेर्नेहरू थुप्रै भएको संगीतकार वसन्त थापाको भनाइ छ ।

अहिले दोहोरी सहित जुनसुकै गीत ‘अडियो’ मा मात्रै सीमित छैनन् । गीत रेकर्ड भएपछि त्यसको भिडियो बनाउनु अनिवार्य बनेको छ । श्रव्यबाट दृश्य भाषामा गएसँगै प्रविधिको गुणस्तरले प्राथमिकता पाउन थालेको छ ।

केही वर्षयता दोहोरी गीतको भिडियोमा हाई डेफिनेशनयुक्त रेड, फोर–के क्यामेरा, ड्रोन लगायतका उच्च प्रविधिको प्रयोग हुन थालेको छ ।

सामान्य लगानी र मिहिनेत गर्दा गीतले लगानी उठाउनै नसक्ने भएकाले ठूलो लगानी हुन थालेको मोडल तथा भावना म्यूजिकका सञ्चालक विमल अधिकारी बताउँछन् । “सुन्दा जति आनन्द लाग्छ, हेर्दा पनि त्यस्तै लाग्यो भने गीत चल्छ” उनी भन्छन्, “शब्द, लय र स्वरसँगै भिडियो पनि उत्कृष्ट बन्यो भने गीतले व्यावसायिक सफलता पाउँछ ।” गुणस्तरीय भिडियोले लोकदोहोरीको बजार फराकिलो बनाउँदै लगेको उनी बताउँछन् ।

त्यस्तै, पछिल्लो समय चलेको ‘टिकटक’ जस्ता भिडियो सेयरिङ एप पनि दोहोरी गीतको दायरा फराकिलो बनाउने माध्यम बनेका छन् । यी सञ्जाल मार्फत सर्वसाधारणले गीतका टुक्कामा अभिनय गरेर अपलोड गर्ने क्रम बढ्दो छ । ‘टिकटक’ मा सुनेका टुक्का मनपरेपछि यूट्यूबमा गीत खोजेर हेर्न/सुन्न थालेको भनेर गरिएका प्रतिक्रियाहरू भिडियोमै देख्न सकिन्छ ।

महिलाको बलशाली भूमिका
दोहोरी गीतमा महिला–पुरुषले सिलसिला मिलाएर सवाल–जवाफ गर्दै गाउँछन् । पुरुषसँगै महिला कलाकारको भूमिका बराबर हुने भएकाले दोहोरी गीत सहभाव र सहअस्तित्वको उदाहरण पनि हो ।

हरिदेवी कोइराला ।

गायिका हरिदेवी कोइराला अझैसम्म महिलाको भूमिका खुम्च्याइरहिएको समाजमा दोहोरी गीत लैंगिक समानताको अनुपम उदाहरण भएको बताउँछिन् । “समाज सभ्य र आधुनिक भइसक्यो भनेर जतिसुकै वकालत गरे पनि महिलाको भूमिका सशक्त हुनसकेको छैन” उनी भन्छिन्, “दोहोरी गीतमा भने पहिल्यैदेखि महिलाको भूमिका शक्तिशाली छ ।”

गायक पुरुषोत्तम न्यौपाने पनि महिला विनाको दोहोरी पूरा हुनै नसक्ने बताउँछन् । “दोहोरीमा महिला कलाकारको भूमिका अनिवार्य र सशक्त हुन्छ” उनी भन्छन् । गाउने क्रममा महिलाहरूले घरपरिवार र समाजमा हम्मेसी बोल्न नसक्ने कुरा समेत दोहोरी मार्फत प्रकट गर्छन् ।

प्रत्यक्ष दोहोरीका क्रममा जुनसुकै विषयमा व्य‌ंग्य र छेडखानी पनि प्रस्तुत गरिन्छ । “दोहोरी मनभित्र रहेको कुरा खुलेर प्रस्तुत गर्ने माध्यम पनि हो” कोइराला भन्छिन्, “दोहोरीले उल्लास, व्यङ्ग्य, पीडा सबै बोकेको हुन्छ ।” विषय जुन भए पनि शब्द र प्रस्तुति भने शालीन हुनुपर्ने उनी सुझाउँछिन् ।

प्रतिकृया दिनुहोस