राष्ट्रिय अनुकुलन योजना कार्यान्वयनमा जोड
जलवायू परिवर्तनका असरसँग जुधिरहेको नेपालले राष्ट्रिय अनुकुलन योजना तर्जुमाको विषयलाई महत्व दिएको छ । मोरक्को मराकेशमा भएको जलवायू परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघिय खाका महासन्धी (यूनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २२ सम्मेलनमा नेपालले राष्ट्रिय अनुकुलन योजना (न्याप) कार्वान्वयनमा जोड दिएको हो ।
सम्मेलनको अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयको आयोजना र अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र इसिमोड र एक्सन एन क्याइमेट टुडेको सहयोगमा आयोजना गरिएको नेपालको राष्ट्रिय अनुकुलन योजना तर्जुमा निर्माण र अनुभव आदान–प्रदान विषयक कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरेका वातावरण मन्त्री, सरकारी अधिकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरुले नेपालले जलवायू वित्त, नविकरणीय उर्जा, अनुकुलन क्षमता वृद्धि तथा दिगो विकासको अवधारणलाई ध्यान दिएको धारणा राखेका थिए ।
वातावरण मन्त्री जयदेव जोशीले जलवायू परिवर्तनका असरसँग गरिव जनता अनुकुलन हुने र उनीहरुको क्षमता अभिवृद्धि गर्ने योजना तर्जुमामा जोड दिएको बताए । वातावरण सचिव विश्वनाथ ओलीले जलवायू परिवर्तनका असर न्यूनिकरण नेपालको क्षमता भन्दा ठूलो विषय भएको भन्दै अनुकुलन योजना निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।
उक्त अवसरमा वातावरण र जलवायू क्षेत्रका विज्ञहरुले नेपाल जलवायू परिवर्तनका असरबाट बढी प्रभावित भएको भन्दै नेपालका लागि अनुकुलन सवैभन्दा महत्वपूर्ण भएको बताए । “जलवायू परिवर्तनका कारण बसाई–सराई गर्ने क्रम सुरु भइसकेको छ,” इसिमोडका जलवायू परिवर्तन विज्ञ डा.विमल रेग्मीले भने, “यो गम्भीर विषय हो, अनुकुलन योजनाको प्रभावकारिता बढेको छ ।”
राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रभु बुढाथोकीले राष्ट्रिय अनुकुलनका योजनालाई कार्वान्यनका लागि स्थानीयदेखि केन्द्रसम्म बजेटको व्यवस्था गरिने जानकारी दिए । वातावरण मन्त्रालयको जलवायू परिवर्तन महाशाखाका प्रमुख एवम् सह-सचिव रामप्रसाद लम्सालले हरित जलावायू कोषबाट राष्ट्रिय अनुकुलन योजना निर्माणमा खर्चिने जानकारी दिए । सम्मेलनको दौरानमा हरित जलावायू कोषबाट नेपाललाई रु ३१ करोड दिने सहयोग दिने घोषणा गरिएको थियो ।
जलवायू परिवर्तन सम्मेलनको क्यूटो प्रोटोकल अन्र्तगत स्थापित अनुकुलन कोष समितिका अध्यक्ष नरेश शर्माका अनुसार हाल कार्वान्यनमा रहेका जलवायू अनुकुलन तथा समानुकुलन सम्वन्धी कामहरुको आधारमा राष्ट्रिय अनुकुलन योजना बनाइने छ । नेपालले आयोजना गरेको उक्त कार्यक्रममा अतिकम विकसित देशहरुको समूह (एलडीसी)का अध्यक्ष तोसी मानु मानु लगायतले सम्वोधन गरेका थिए ।
मुकेश पोखरेल, माराकेश, मोरक्को