ब्लगसोमबार, २८ माघ , २०७५

प्लास्टिक प्रकोप !

कनकमणि दीक्षित

सस्तो र सजिलो प्लास्टिकलाई उत्पादकदेखि उपभोक्तासम्मले अपनाएका छन्, यसको विषाक्त प्रकृतिका बाबजुद ।

गएको हप्ता २२ माघ देवघाटस्थित महेश सन्यास आश्रमको रजत वर्ष तथा राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनको लागि सजिएको थियो ।

हिजोआज सजावटका नाममा मुलुकभरि नै फैलिएको प्लास्टिकको ध्वजापताकाले सडकको वारपार रंगीन बनाउने चलन यहाँ पनि पछ्याइएको थियो । यो सस्तो, सजिलो तर घातक प्रयोग हो ।

संसारभरि नै प्लास्टिकको प्रकोप आइलागेको छ — काठ, फलाम, माटो र कपडाको साटो हरेक काममा प्लास्टिक नै चलाइन्छ । किराना पसल या सुपरमार्केटमा किनमेल गर्दा जति सजिलो गरी प्लास्टिक झोला हातमा थम्याइन्छ, त्यसले विश्व र नेपाली वातावरणलाई खल्बल्याएको छ ।

प्लास्टिकले कसरी नेपाली समाज र अर्थतन्त्रमा कब्जा जमाइसकेको छ, सोनाम ल्होछार पर्वको भोलिपल्ट टुँडिखेल देखेकालाई थाहा हुन्छ, फालिएका प्लास्टिकका ब्याग र बोतलले पूरै मैदान ढाकिएको ।

देवघाटमा प्लास्टिक ।

हामीले सामान राखेर सजिलै घरमा ल्याउने र काम सकिएपछि मिल्काउने गरेको प्लास्टिकको झोला ‘बायोडिग्रेडेबल’ होइन — हजार वर्षसम्म यो यथावत् रहन्छ, फोटीसिन्थसिस्द्वारा धूलो नभएसम्म । प्लास्टिक ब्यागको त ‘रिसाइकल’ पनि सजिलो गरी हुँदैन ।

कुनै पनि किराना पसलको तखतामा हेर्नु, सबै चिजबिजको प्याकेजिङ प्लास्टिकमा हुन्छ, जो अन्ततः फ्याकिने नै हो । आज कुनै पनि नदी किनार, पहाड–मधेशको गोरेटो, शहरको ढल–नाली, राष्ट्रिय निकुञ्ज, हिमाली भञ्ज्याङ — यत्रतत्र देखिन्छन् तयारी चाउचाउका खोल, खैनीका प्याकेट, मिनरल वाटर बोतल, प्लास्टिक ब्याग आदि इत्यादि । कुनै वस्तु यतै अल्झिन्छन्, कुनै खोलाले बगाउँदै गंगा नदी हुँदै बंगालको खाडीसम्म पुग्छन् । यदाकदा फोहोर सम्हाल्ने हेतुले जलाइन्छन्, विषाक्त धुवाँ सीधै फोक्सोमा छिर्ने गरी ।

समाजमा प्लास्टिकको घातक हमला रोक्न के गर्ने भन्नेबारे आजैसम्म सशक्त अभियान चलेको छैन, किनकि प्लास्टिक भनेकै ‘सस्तो’ र ‘सजिलो’ । उत्पादनकर्तादेखि उपभोक्तासम्मले यसको विकल्पमा ध्यान दिंदैनन्, बजार र अर्थतन्त्रलाई प्लास्टिकले कब्जामा लिइसक्यो ।

टुकुचामा प्लास्टिक ।

सबैतिर उत्सव र पर्वहरूमा रमाइलो बनाउन ध्वजापताका टाँगिन्छन् । देवघाटदेखि काभ्रे, दाप्चाको कालिका मन्दिरसम्म यस्तै छ । उत्सव सकिएपछि यसलाई झिक्ने, व्यवस्थित गर्ने, अर्को पटक चलाउने भनेर कसैको विचार हुँदैन किनकि यो सस्तो छ, र वातावरणबारे हामी सोच्दैनौं ।

हामी ‘अर्गानिक’ भन्दै तरकारी, स्याउ, सिमी किनौंला तर ती ‘इन्अर्गानिक’ थैलोमा बोकेर घर ल्याउँछौं । देवघाटको महेश सन्यास आश्रमको रजत वर्षको अवसरमा भोजन गर्ने सयौं भक्तजनलाई दुइटा प्लास्टिकको गिलास दिइयो, दूध र पानीका लागि । निःसन्देह प्रयोजन सकिएपछि ती वस्तुको गन्तव्य भनेको नारायणी–कालीगण्डकीको दोभानमा जलसमाधि लिनु नै थियो ।

प्लास्टिक वस्तुको सही पुनः प्रयोगको वैज्ञानिक प्रविधि आविष्कार नभएसम्म हामी यसको नियन्त्रणमै लाग्नुपर्छ । विश्वका अन्य राष्ट्रहरूको अनुपातमा नेपाल देश सानो होइन, यहाँका जनसमुदायको क्रियाकलापले पनि विश्व वातावरणमा असर पारिरहेको हुन्छ । अतः अरूले नै गरुन् भन्ने होइन । मन्दिर, मेला र महोत्सवमा प्लास्टिक ध्वजापताकाको प्रयोग हालैको हो, यतैबाट शुरु गरौं ।

वातावरण मन्त्रालयले अगुवाइ गर्नुपर्‍यो, र मुलुकभरका नागरिक समाजलाई आह्वान हुनुपर्‍यो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र सातवटै मुख्यमन्त्री कार्यालयले सूचना प्रवाह गर्नुपर्‍यो, कि राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री सहभागी हुने कुनै पनि कार्यक्रममा प्लास्टिक ध्वजापताका, कप, प्लेट प्रयोग नहोस् ।

यो एउटा अभियानमा परिणत होस्, र प्रत्येक संघीय र प्रान्तीय मन्त्री, नगरप्रमुख, गाउँप्रमुख र वडाध्यक्ष तथा वडा सदस्यले यसै गरुन् । प्लास्टिकको आक्रमण विरुद्ध देशव्यापी रूपमा लड्न यो एउटा शुरुआत हुन सक्छ ।

 

प्रतिकृया दिनुहोस