रिपोर्टआइतबार, २७ माघ , २०७५

विषादी निषेधित नाम्जे

गोपाल गडतौला

नाम्जे, धनकुटाका किसानले अर्गानिक खेतीबाट गाउँको चिनारी फेरेका छन्।

साँघुरीगढी–७, नाम्जेकी कृषक बालकुमारी मगर । तस्वीरः गोपाल गड्तौला

एक दशक अघिसम्म धनकुटाको साँघुरीगढी गाउँपालिका–७ नाम्जेका व्यावसायिक तरकारी उत्पादक किसान कीटनाशक विषादी र रासायनिक मलको प्रयोगमा रमाएका थिए । किनकि तरकारी खेती सप्रिएर मनग्गे कमाइ भइरहेको थियो ।

एकै घरले वार्षिक रु.४/५ लाखसम्मको तरकारी बेच्थ्यो । शुरूका वर्षमा बाली प्रशस्त लागे पनि केही वर्षपछि उत्पादन घट्दै जान थाल्यो । टिपेका सागपात र अन्य तरकारी एकै दिनमा कुहिन थाले ।

२०६४ सालमा नाम्जेवासीले उत्पादन घट्नुको कारण रासायनिक मल र विषादीको प्रयोग रहेको थाहा पाए । त्यसयता उनीहरू अर्गानिक खेतीतिर ढल्किएका छन् । “हाम्रा खेतबारीमा ७/८ वर्षदेखि बजारु मल र विषादी परेको छैन” साविक भेडेटार गाविसका अध्यक्ष रहेका अनिलकुमार मगर भन्छन् ।

अनिल तिनै व्यक्ति हुन्, जसले नाम्जेमा रासायनिक मल र विषादीको माग अत्यधिक बढेको बेला २०५३ सालमा आफ्नै अध्यक्षतामा शैलुङ कृषि सहकारी संस्था खोलेर ट्रकका ट्रक ओसारेका थिए । असर बुझेपछि भने यसबारे किसानलाई बुझउन उनले नै अगुवाइ गरे । रासायनिक मल र विषादीको बिक्री बन्द भएपछि उक्त कृषि सहकारीले बहुउद्देश्यीय सहकारी संस्थामा परिणत भएर बचत र ऋणको कारोबार गर्दै आएको छ ।

नाम्जेका किसानले कसैले पनि रासायनिक मल र विषादी प्रयोग नगर्ने, गरेको थाहा भए भेला बोलाएर कारबाही गर्ने नियम बनाएका छन् । यो नियमले नै गाउँलाई अर्गानिक खेती प्रणालीमा लगेको हो ।

बालकुमारी मगर (४२) खेतबारीमा गाईभैंसीको भकारो, कुखुराको सूली र बाख्राको जुतो हाल्छिन् । उनले बितेको चार महीनामा रु.४५ हजारको रायो साग मात्र बेचिन् । माघ दोस्रो सातासम्म पनि उनको बारीमा हलहली सप्रेको साग छ ।

तीन रोपनीमा तरकारी फलाएर वार्षिक रु.२ लाखभन्दा बढी आम्दानी गरिरहेकी उनी भन्छिन्, “रासायनिक मल र विषादी हाल्न छोडेको चार/पाँच वर्षदेखि मात्र यत्तिको आम्दानी हुन थालेको हो ।”

देवीकुमारी मगर (३९) ले ६ रोपनीमा साग, आलु, खुर्सानी, धनियाँ र बोडी लगाएकी छन् । मासिक रु.२० हजारको सागसब्जी बेचिरहेको उनी बताउँछिन् । आलुबारीमा हाल्न उनले कुखुराको सूली २० बोरा किनेकी छन् ।

नाम्जेका किसानले जैविक मलबाट तरकारी खेतीसँगै पशुपालन पनि एकैसाथ शुरू गरेका थिए । मलको आवश्यकता पूरा गर्ने विकल्प पनि यही थियो । ६ रोपनीमा तरकारी खेती गरिरहेका मानबहादुर मगर (४५) को गोठमा तीन माउ गाई र १९ वटा बाख्रा छन् ।

तरकारी र पशुपालनबाट सबै खर्च कटाएर वार्षिक साढे दुई लाख रुपैयाँ मुनाफा भइरहेको उनी बताउँछन् । यहाँका ८० भन्दा बढी परिवारले व्यावसायिक तरकारी खेती र पशुपालन गर्दै आएका छन् ।

अर्गानिक खेतीमा केन्द्रित भएसँगै नाम्जेलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाले जलवायु अनुकूलित गाउँ कार्यक्रममा छनोट गरेको छ । कार्यक्रम लागू गर्न नाम्जे र आसपासका १५७ परिवारको लगत तयार भएकोमा पहिलो चरणमा ४० परिवारलाई तरकारी खेतीका लागि टनेल बनाउन प्लास्टिक वितरण गरिएको छ ।

अर्गानिक उत्पादनले आन्तरिक पर्यटक तान्न थालेपछि नाम्जेमा होमस्टे सेवा पनि सञ्चालन भइरहेको छ । मगर समुदायका २२ घरमा सात वर्षदेखि लालीगुराँस होमस्टे सेवा सञ्चालित छ । सुनसरीको धरानदेखि १९ किलोमिटर उत्तरतर्फ रहेको होमस्टेमा खासगरी गर्मीयाममा शीतल खोज्दै पाहुनाहरूको लर्को लाग्छ ।

परिवर्तनको जग
२०५८ सालमा भारतीय मूलका अमेरिकी पीसकर्प भोलेन्टियर राजीवकुमार गोयल नाम्जे पुगेर स्थानीय ग्रामीण जनता माविमा पढाउन थाले । दिउँसो करीब एक घण्टा कक्षाका सबै विद्यार्थी विद्यालयबाट हराउने गरेपछि उनले कारण खोजी गरे ।

विद्यार्थी पानी खान एक किलोमिटर टाढासम्म पुग्ने गरेको थाहा पाएपछि उनले विद्यालयमा पानी ल्याउने जुक्ति सोच्न थाले । उपाय सुझायो, एक किलोमिटर फेदीमा रहेको साँचु खोलाको पानी ल्याउने ।

अमेरिकाबाट उनले रु.१२ लाखको लागतमा पानी लिफ्टिङ गर्ने योजना र सहयोग रकम रु.९ लाख ल्याए । गाउँलेबाट रु.३ लाख बराबरको श्रमदान लिंदै विद्यालयमा ट्याङ्की बनाएर पानी तानियो ।

सोही योजनाले विद्यालयसहित नाम्जेका १०० घरधुरीलाई पानी पुगिरहेको छ । नाम्जेमा आजको परिवर्तन आउनुमा राजीव नै पथप्रदर्शक बनेको तत्कालीन गाविस अध्यक्ष अनिलकुमार मगर बताउँछन् । बालबालिकालाई अंग्रेजी पढाउनेसँगै किसानलाई सरसफाइ र भकारो सुधार सिकाउने र खेतबारीमा हाल्ने गरिएको रासायनिक मल र विषादीले हानि गर्छ भन्ने ज्ञानको स्रोत उनी नै भएको मगरको भनाइ छ ।

प्रतिकृया दिनुहोस