धनगढी प्रिमियर लिग उद्घाटन, सोमबारदेखि खेल हुने
रूस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको उद्घाटन भएको छ ।
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको आज सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।
प्रतियोगिता उद्घाटन भएपनि बर्षाका कारण खेल भने सोमबारदेखि मात्रै शुरु हुने आयोजकले जनाएको छ ।
लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिन पछि सारिएको हो । सोमबारदेखि दैनिक दुईवटा खेल हुनेछन ।
पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन् ।
डीपीएल प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ ।
उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले गोल्डेन बुट, प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।
टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्नेछन् ।
शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ ।
प्रतियोगिताका लागि पाँच हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।
त्यस्तै आयोजकले दर्शकका लागि टिकट दर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० रुपैयाँ तोकेको छ ।
टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।
– सीताराम ओझा, धनगढी