डीपीएल २ दिनपछि, बिजेतालाई ३० लाख (अपडेट)
धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करण पानीका कारण दुई दिनपछि सोमबार शुरु हुने भएको छ।
आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष र प्रतियोगिताका सद्भावदूत दक्षिणअफ्रिकाका पूर्व विख्यात क्रिकेटर जोन्टी रोड्सले शुक्रबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको ट्रफी सार्वजनिक गरे । लिग अवधिभर वल्र्ड भिजनसँगको सहकार्यमा सामाजिक अभियानको रुपमा वाल विवाहविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिने भएको छ ।
आयोजक अनुसार, यो वर्षको डीपीएलको पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । प्रतियोगिता विजेताले ३० लाख रुपैंया र उपविजेताले १२ लाख रुपैंयाँ पाउनेछन् । तेस्रो र चौथो स्थान हासिल गर्नेले क्रमशः ४ लाख र २ लाख नगद पाउने छन् ।
प्रतियोगिताको उद्घाटन अवसरमा एक जना पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
११ फागुनसम्म हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को मान्यता प्राप्त डीपीएलमा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स् र विराटनगर किंग्सको सहभागिता रहनेछ ।
टी–२० स्वरुपमा धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगितामा शुरुमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् ।
प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी पारापिट निर्माण गरिएको छ । टिकट बिक्रीको रकममध्ये २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय मैदान निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत सहभागी टिमलाई प्रदान गरिनेछ ।