समाचारशुक्रबार, २५ माघ , २०७५

५ प्रतिशत ब्याजमा पनि बिकेन राष्ट्र ब्याङ्कको

विनय बञ्जारा

सापटीलाई पनि निक्षेप मानेर ऋण दिन पाउने भएपछि ब्याङ्क तथा वित्तीय संस्था राष्ट्र ब्याङ्क छाडेर अन्तरब्याङ्क कारोबारतर्फ तानिएका छन् ।

२४ माघमा नेपाल राष्ट्र ब्याङ्कले रु.५ अर्बको रिपो (तरलता व्यवस्थापन गर्न बजारमा पठाइने रकम) जारी गर्याे। खुला बजार कारोबार मार्फत जारी गरिएको उक्त रिपो लिन कुनै पनि ब्याङ्क तथा वित्तीय संस्था तयार भएनन् । राष्ट्र ब्याङ्कले ५ प्रतिशतभन्दा कम ब्याजदर प्रस्ताव गर्न नपाइने शर्त सहित पैसा अभाव हुने ब्याङ्क तथा वित्तीय संस्थालाई केन्द्रीय ब्याङ्कबाट पैसा दिने सूचना जारी गरेको थियो।

२३ माघमा ब्याजदर करिडोर अन्तर्गत जारी गरिएको रु.५ अर्बको रिपोमध्ये रु.३ अर्ब ६० करोड मात्रै पाँच वटा ब्याङ्क तथा वित्तीय संस्थाले लगे। त्यसको अघिल्लो दिन राष्ट्र ब्याङ्कले खुला बजार कारोबार मार्फत रु.१५ अर्ब बजारमा पठाउन ब्याङ्क तथा वित्तीय संस्थासँग प्रस्ताव माग्यो। त्यसमा पनि पाँच वटा ब्याङ्कले रु.३ अर्ब ९३ करोड मात्रै लगे।

ब्याङ्क तथा वित्तीय संस्थाले लगानी गर्ने पैसा नभएको भन्दै ब्याजदर बढाउने र कर्जा दिन कडाइ गरिरहेको बेला राष्ट्र ब्याङ्कले दिएको पैसा चाहिं किन नलिएका होलान्? “अहिलेको ब्याङ्कहरूको व्यवहारले पूँजी र तरलता धेरै भिन्न हो भन्ने सिकाएको छ”, राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्।

राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई दिने यस्तो तरलताबाट कर्जा प्रवाह गर्न भने पाइँदैन। “केन्द्रीय ब्याङ्कले वित्तीय प्रणालीमा भुक्तानी गर्न समस्या नहोस् भनेर सहयोग गर्छ, व्यापार गर्ने खर्च चाहिं दिंदैन।” यसको मतलब कुनै निक्षेपकर्ताले आफूले ब्याङ्कमा राखेको पैसा झिक्न खोज्दा ब्याङ्कले पैसा नभएका कारण निक्षेप फिर्ता गर्न सकेन भने राष्ट्र ब्याङ्कले त्यसको बाटो खोलिदिन्छ, तर ऋण दिएर ब्याङ्कको व्यापार बढाउने पूँजीको रुपमा राष्ट्र ब्याङ्कले दिएको पैसालाई उपयोग गर्न पाइँदैन।

अहिले ब्याङ्कहरू कर्जायोग्य पूँजी अभाव (क्रेडिट क्रञ्च) मा रहेको बेला पनि राष्ट्र ब्याङ्कसँग पैसा नलिनुको मूल कारण पनि यही हो । त्यसको साटो अहिले एउटा ब्याङ्कले अर्को ब्याङ्कबाट छोटो समयका लागि लिने सापटी (अन्तरब्याङ्क कारोबार)भने चुलिएको छ।

पछिल्लो एक सातामा मात्रै वाणिज्य ब्याङ्कहरूबीच रु.३९ अर्ब ८० करोड अन्तरब्याङ्क कारोबार भएको राष्ट्र ब्याङ्कले बताएको छ । १८ माघ शुक्रवार रु.९ अर्ब १० करोड, आइतवार रु.११ अर्ब ३० करोड, सोमवार रु.७ अर्ब १५ करोड मंगलवार रु.६ अर्ब ४० करोड, बुधवार रु.३ अर्ब ६० करोड र बिहीवार रु.२ अर्ब २५ करोड वाणिज्य ब्याङ्कहरू बीच मात्रै अन्तरब्याङ्क कारोबार भएको छ । शुक्रवार दिउँसो १ बजेसम्म तीन वटा कारोबारमा रु.१ अर्ब २० करोडको अन्तरब्याङ्क कारोबार भएसकेको छ।

अन्तरब्याङ्क कारोबारको ब्याजदर पनि राष्ट्र ब्याङ्कले तोकेको (५ प्रतिशत) ब्याजदरभन्दा उच्च छ । गत शुक्रवार ५.७७ प्रतिशत रहेको भारित औसत ब्याजदर आइतवार ५.८९, सोमवार ६.०८, मंगलवार ६.२०, बुधवार ६.३८ र बिहीवार ८.८६ प्रतिशतमा कारोबार भएको छ । आज पनि दिउँसोको कारोबारमा ६.४४ प्रतिशतमा कारोबार भइरहेको छ।

राष्ट्र ब्याङ्कले एउटा ब्याङ्कसँग अर्को ब्याङ्कले लिने अन्तरब्याङ्क सापटीको पैसालाई कर्जा दिनमा प्रयोग गर्न सक्ने व्यवस्था गरेपछि ब्याङ्कहरूको व्यवहार बदलिएको कार्यकारी निर्देशक थापा बताउँछन् । गत वर्षसम्म अन्तरब्याङ्क कारोबार १ प्रतिशत भन्दा कममा रहेपछि राष्ट्र ब्याङ्कले ब्याजदर करिडोर मार्फत अन्तरब्याङ्क कारोबारलाई ३ प्रतिशतभन्दा माथि उचाल्ने प्रयास गरेको थियो । त्यसबेला राष्ट्र ब्याङ्कसँग पैसा लिएर अर्को ब्याङ्कलाई महँगोमा सापटी दिने प्रवृत्ति ब्याङ्किङ क्षेत्रमा मौलाएको थियो।

ब्युँतियो ब्याजदर करिडोर
नेपाल राष्ट्र ब्याङ्कले गएको मंसीरमा बन्द गरेको ‘ब्याजदर करिडोर’ पुनः कार्यान्वयनमा ल्याएको छ । ब्याङ्क तथा वित्तीय संस्थामा आवश्यकभन्दा बढी पैसा भएमा खिचेर लिने र चाहिंदो पैसा पनि नहुँदा ब्याङ्कहरूलाई राष्ट्र ब्याङ्कले पैसा दिने नीतिगत बाटो हो, ब्याजदर करिडोर । करिडोर जस्तै अर्को बाटो चाहिं ‘खुला बजार कारोबार’ हो । राष्ट्र ब्याङ्कले विगतमा खुला बजार कारोबार मार्फत वित्तीय बजारको तरलता व्यवस्थापन गर्दै आएकोमा असोज २०७३ देखि ब्याजदर करिडोर मार्फत तरलता व्यवस्थापन गर्ने विधि अँगालेको थियो।

ब्याजदर करिडोर र खुला बजार कारोबारमा एउटै मात्र भिन्नता हुन्छ । “करिडोरमा ब्याङ्क तथा वित्तीय संस्थाले कति पैसा राष्ट्र ब्याङ्कलाई दिने वा लिने भन्न मात्र पाउँछन्” केन्द्रीय ब्याङ्कको राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख समेत रहेका थापा भन्छन्, “खुला बजार कारोबारमा भने उनीहरूले पैसासँगै ब्याजदर पनि प्रस्ताव गर्नुपर्ने हुन्छ।”

गएको मंसीर पहिलो साता अघिसम्म राष्ट्र ब्याङ्कले पूर्ण रुपमा तरलता व्यवस्थापनको कार्य करिडोरमार्फत नै गर्दै आएको थियो । बजारमा तरलता पठाउने वा खिच्ने कार्यलाई राष्ट्र ब्याङ्कले तरलता व्यवस्थापन भन्ने गर्छ । अब भने तरलता व्यवस्थापनको २५ प्रतिशत ब्याजदर करिडोर मार्फत र ७५ प्रतिशत खुलाबजार कारोबार मार्फत गर्ने निर्णय भएको थापा बताउँछन्।

“यो भारतकै जस्तो दोहोरो विधिबाट तरलता व्यवस्थापन गर्ने बाटो हो” थापा भन्छन्, “यस्तो व्यवस्थाबाट बजारले के कति ब्याज प्रस्ताव गर्छ वा वित्तीय बजारमा ब्याजदर कसरी चलिरहेको छ भन्ने थाहा हुन्छ ।” करिडोरमा ब्याजदर स्थिर हुने भएकाले बजारको आवश्यकता आकलन केही कठिन हुने राष्ट्र ब्याङ्कको अनुभव छ । तर, उनै थापाले यसअघि ब्याजदर करिडोर बन्द गर्दा ‘बजारमा गलत धारणा प्रवाह भएकाले’ तत्कालका लागि करिडोर नीति ‘स्थगित’ गरेको बताएका थिए।

यससँगै राष्ट्र ब्याङ्कले खुला बजार कारोबारमा पनि पहिले जस्तो जथाभावी ब्याजदर निर्धारण गर्न नपाइने व्यवस्था गरेको छ । गएको १७ कात्तिकदेखि लागू भएर एक महीना पनि सञ्चालन हुन नसकेको ब्याजदर करिडोरको संशोधित व्यवस्था अनुसार राष्ट्र ब्याङ्कले ५ प्रतिशत ब्याजदरमा ब्याङ्क तथा वित्तीय संस्थालाई तरलता प्रवाह गर्ने र ३.५ प्रतिशत ब्याजदरमा ब्याङ्क तथा वित्तीय संस्थाबाट राष्ट्र ब्याङ्कले निक्षेप खरीद गर्नेछ । तर राष्ट्र ब्याङ्कले खुला बजार कारोबारमा पनि ब्याजदर करिडोरको स्थिर दरलाई नै आधार मानेर बोलकबोल गर्न पाइने व्यवस्था गरेको छ । अब खुला बजार कारोबार मार्फत राष्ट्र ब्याङ्कसँग पैसा लिन चाहने ब्याङ्क तथा वित्तीय संस्थाले कम्तीमा ५.०००१ प्रतिशत ब्याज दिर्नुपर्नेछ भने राष्ट्र ब्याङ्कमा पैसा राख्न खोज्ने ब्याङ्क तथा वित्तीय संस्थाले ३.४९९९ प्रतिशतभन्दा बढी ब्याज पाउने छैनन्।

प्रतिकृया दिनुहोस