शनिबारदेखि बूढासुब्बा गोल्डकप
देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ ।
प्रतियोगिताका लागि सम्पूर्ण भौतिक पूर्वाधारको काम सकिएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । नयाँ मैदानमा गत साउनमै रोपिएको घास अहिले हरियो भएको
छ । घासका लागि जिल्ला खेलकूद विकास समितिले रु. पाँच लाख ५० हजार लगानी गरेको थियो ।
क्लबका महासचिव प्रताप तामाङका करीब पाँच हजार दर्शक अटाउने पारापिट बनेको छ । पश्चिमतर्फ बनेको अर्को पारापिटमा थप दुई हजार दर्शक अट्नेछन् । पाँच सय दर्शक क्षमताको अर्को ‘भिआइपी’ पारापिट पनि तयार भइसकेको छ ।
प्रतियोगिताको यो संस्करणमा राष्ट्रिय लिग च्याम्पियन मनाङमस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, सहारा क्लब पोखरा, धरान फुटबल क्लब, मेची नेत्रालय झापा, क्यामरुनको डल्फिन क्लब, डालहाउस एथलेटिक कोलकताले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
गतवर्षको विजेता थ्रीस्टार क्लब र नेपाल आर्मी क्लब भने भूटानमा भइरहेको प्रतियोगितामा रहेका कारण सहभागिता जनाउन नसकेको अध्यक्ष राईले बताए । करीब रु.७० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले रु. आठ लाख र उपविजेताले रु. चार लाख पाउनेछन् । –रासस