सम्पादकीयबुधबार, २३ माघ , २०७५

फर्जी उद्धारमा संलग्नमाथि कारबाही गर

किरण नेपाल

पर्यटकको फर्जी उद्धार प्रकरणमा ६ महीनाअघि छानबिन गरेको सरकारले थप अनुसन्धान र कारबाही अघि नबढाउँदा नेपालको सिङ्गो पर्यटन उद्योगले अन्तर्राष्ट्रियस्तरमा दाग बोक्नु परेको छ ।

नेपालमा पर्यटकको फर्जी उद्धार र बीमा रकम अपचलन हुने गरेको समाचार अन्तर्राष्ट्रिय मिडियामा आएसँगै यहाँको पर्यटन उद्योग तरंगित हुन पुगेको छ । नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा आएको यो समाचारका पछाडि जेजस्ता कारण भए पनि यसले नेपालको पर्यटन क्षेत्रमा जोखिम बढाएको छ ।

पर्यटकलाई जबर्जस्ती बिरामी बनाएर हेलिकप्टरबाट उद्धार गरी अस्पतालमा भर्ना गर्ने र त्यसवापत चर्को बीमा रकम दाबी गर्ने समाचार अलिक अगाडिदेखि नै चर्चामा आएको हो । र, करीब ६ महीनाअघि सम्बद्ध मन्त्रालयबाट छानबिन पनि गरिएको हो ।

तर अरू मामिलामा झैं यसमा पनि छानबिन प्रतिवेदन बनाउनमै सीमित सरकारले थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउन सकेन । र, अन्ततोगत्वा यो प्रकरण अन्तर्राष्ट्रियकरण हुनपुग्यो– जुन स्वाभाविक हो ।

किनभने फर्जी उद्धारको मामिलामा भएको ठगीको आयतन नेपाली सरहद भन्दा धेरै परसम्म फैलिएको छ । फेरि यो प्रकरण पर्यटकको सुरक्षासँग समेत सम्बन्धित छ ।

बीमा पश्चिमा समाजको अभिन्न अंग बनेको छ— जहाँ जीवनयापनका क्रममा संभाव्य अनेकन् आर्थिक जोखिमहरूलाई बीमामार्फत सुरक्षित बनाइन्छ ।

नेपाल आउने अधिकांश पर्यटकहरू स्वास्थ्य लगायतका बीमा गरेर आएका हुन्छन् । भूगोल, स्वास्थ्य सेवा, उद्धारको अवस्था, राजनीतिक अस्थिरता आदिका आधारमा नेपाल जहिल्यै संवेदनशील मानिने हुँदा उनीहरूका लागि बीमा अनिवार्य जस्तै हुन्छ ।

हिजो सामुद्रिक आवागमन (विशेषगरी माल ढुवानी) मा सीमित बीमा पछिल्लो समय जीवनका अधिकाधिक क्रियाकलापमा विस्तारित छ । यही कारण बीमाप्रति हदैसम्म संवेदनशील छ, पश्चिमा समाज— जो बीमालाई जीवन र व्यवसायको महत्वपूर्ण सुरक्षाकवच ठान्दछ ।

र, बीमा रकममाथि हुने ठगीलाई ठूलो अपराधका रूपमै बुझ्ने त्यो समाजमा तदनुरूपको कानूनी कारबाही पनि हुन्छ । त्यसैले नेपालमा फर्जी उद्धारमार्फत भएको बीमा रकमको अपचलन र तत्सम्बन्धी कानूनी कारबाही नबढेको प्रकरणले अन्तर्राष्ट्रिय मिडियामा स्थान पाएको हो ।

फेरि बीमाको व्यावसायिक प्रक्रिया नै एउटा बीमा पुनः बीमा (रि–इन्स्युरेन्स) हुँदै जाने भन्ने हो । अर्थात् एक ठाउँ (मुलुक वा कम्पनी) मा गरिएको बीमा त्यही स्थानमा मात्र सीमित हुँदैन बरु अनेकन् कम्पनी र मुलुकमा क्रमशः पुनः बीमा हुँदै जान्छ । र, बीमित माथि हुने कुनै पनि क्षतिको पुर्ताल पुनः बीमा गरिएको कम्पनी वा मुलुकबाट बीमा गरिएको कम्पनीमार्फत प्रदान गरिन्छ ।

यो प्रक्रिया अनुसार पनि बीमामाथि ठगी नेपालमै गरिएको किन नहोस् त्यसको आर्थिक भार ज्यादातर विकसित मुलुकमा रहेका रि–इन्स्युरेन्स कम्पनीहरूमाथि पर्छ ।

त्यसो त बीमा रकममाथिको ठगी नेपालकै कानून अनुसार पनि दण्डनीय अपराध हो । तर जानकारी पाएको र छानबिन गरेकोे ६–६ महीना बित्दा पनि दण्डको दायराभित्र कोही पनि नपर्नुले देशको सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ नै, सँगै यो विषयले अन्तर्राष्ट्रियकरण हुने अवसर पनि पाएको छ ।

हामीकहाँ भएको फर्जी उद्धार प्रकरणमा यहाँका कतिपय– पर्यटन व्यवसायी, हेलिकप्टर कम्पनी र अस्पतालहरू पोलिएका छन्– केही प्रकरणमा पर्यटक स्वयं पनि ।

घुम्न आएको पर्यटकलाई अखाद्य पदार्थ खुवाई बिरामी बनाएर उद्धार र उपचार गरिएको घटनाबाट शुरू भएको फर्जी उद्धारका कतिपय प्रकरणमा पर्यटकको मिलेमतो समेत रहेको छानबिन प्रतिवेदनले नै औंल्याएको छ ।

आरोप त कतिसम्म भने कागजमै बिरामी, उद्धार र उपचारको विधि पु¥याएर बीमा रकम अपचलन गरिएको छ । पछिल्ला वर्षहरूमा आकाशिएको ‘रेस्क्यू’ को संख्या यो प्रकरण सार्वजनिक भएसँगै पर्यटन मन्त्रालयले छानबिन कार्यदल गठन गरेपछि घट्नुले पनि बीमा रकमका लागि फर्जी उद्धार भइरहेको आरोप पुष्टि हुन्छ ।

सन् २०१८ को मार्चदेखि मेसम्ममा १,५३२ वटा उद्धार भएकोमा यो प्रकरण सार्वजनिक भएपछि त्यही वर्षको सेप्टेम्बरदेखि हालसम्म १८६ वटा मात्र उद्धार भएको छ ।

हो, यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोगी बनेको ट्राभलर असिस्ट नामक उद्धार सहयोगी कम्पनीले दाबी गरेजस्तो फर्जी उद्धार प्रकरणमा नेपालको सम्पूर्ण पर्यटन व्यवसाय नै संलग्न छ भन्ने होइन ।

त्यस्तै सबै हेलिकप्टर कम्पनी वा अस्पताल पनि संलग्न छैनन् । तर संलग्न दोषी उपर समयमै कारबाही नहुँदा बीमा व्यवसाय र उद्धारको काम एकलौटी बनाउने स्वार्थमै किन नहोस्, ट्राभल असिस्टमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको सिंगो पर्यटन उद्योगले दाग बोक्नु परेको छ ।

छिटै यो प्रकरणका दोषीमाथि कारबाही शुरू नगरिए, नेपालको पर्यटन उद्योगमाथि दूरगामी नकारात्मक असर पर्ने निश्चित छ । शुरूआत नेपाल भ्रमण वर्ष–२०२० को असफलताबाट हुनसक्छ ।

प्रतिकृया दिनुहोस