कहाँ खेलाउने एक दिवसीय र टि–२० शृङ्खला ?
विदेशीलाई सुन्दै अचम्म लाग्दो हो, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन् भन्दा ।
एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, नेदरल्याण्ड्ससँगको पहिलो शृङ्खला बराबरीमा सकियो तर संयुक्त अरब इमिरेट्स (युएई)सँगको दोस्रोमा नेपालले ऐतिहासिक जित दर्ता गरायो ।
टि–२० मा समेत पहिलो शृङ्खला जितेको छ । तर, नेपालमै भने शृङ्खला आयोजना गर्ने अवस्था अहिले छैन । भएको एउटै मैदान कीर्तिपुरस्थित त्रिवि मैदान वर्षौंदेखि मर्मत हुन सकेको छैन ।
त्रिवि मैदानले मात्रै धानेको नेपाली क्रिकेटको साख जोगाउन अब कहिलेसम्म सो मैदानमा मात्रै भर पर्ने हो ? यसको उत्तर नेपाली क्रिकेटका जिम्मेवार पदाधिकारीसँग छैन ।
हरेक चार वर्षमा पिचको मर्मत गर्नुपर्दछ तर त्रिवि मैदानको पिच आठ वर्षसम्म पनि मर्मत भएकै छैन ।
नेपालमा एक दिवसीय शृङ्खला खेलाउन सकिन्छ कि सकिँदैन भनेर भर्खरै अध्ययन शुरु भएको छ । एकदिवसीय मान्यता पाएपछि नेपालले पनि घरेलु मैदानमा शृङ्खलाको आयोजना गर्न चासो दिइरहेको छ । तर क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) निलम्बनमा छ । कीर्तिपुर मैदान बेहाल छ ।
नेपालको मैदान एकदिवसीय शृङ्खला खेलाउन योग्य छ की छैन भनेर जाँच गर्न अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का प्रतिनिधि एन्डी एटकिन्सन नेपालमा छन् । उनले मङ्गलबार कीर्तिपुर मैदानको निरीक्षण गरे । उनले बुधबार निर्माणाधीन मुलपानी मैदानको निरीक्षण पनि गरेका छन् । उनैले मैदानको अवस्थाका बारेमा आइसीसीमा प्रतिवेदन बुझाउनेछन् ।
“एण्डीले प्रतिवेदन बुझाएपछि आइसीसीले त्रिवि मैदानलाई एकदिवसीय योग्य बनाउनका लागि गर्नुपर्ने कामबारे सुझाव दिनेछ, त्यही अनुसार सुधार गर्नसके नेपालले एक दिवसीय शृङ्खला आयोजना गर्ने बाटो खुल्नेछ”, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले भने ।
त्रिवि मैदानमा सुरक्षाको विषयमा पनि आइसीसीले चासो देखाएको छ । त्यसैले सरकारले सुरक्षाको विषयमा पनि आइसीसीलाई विश्वस्त तुल्याउनुपर्नेछ । क्यान निलम्बनको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बजेट छुट्याएर काम गर्न सक्छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कीर्तिपुरको मैदान मर्मतका लागि मन्त्रालयले नै ताकेता गर्ने बताएका छन् । “आइसीसीले भनेअनुसार विधान संशोधन भइसकेको छ, क्यानका निर्वाचित पदाधिकारीले अदालतमा दायर गरेको मुद्दा फिर्ताको प्रक्रिया पनि शुरु भइसकेको छ, अब चाँडै क्यानको निलम्बन फिर्ता हुन्छ”, उनले भने ।
खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री विश्वकर्माले मुलपानी मैदान साढे दुई वर्षभित्रै निर्माण सम्पन्न गरिने दावी पनि गरे ।
पूर्व क्रिकेटर राजु बस्नेतले नेपाली खेलाडीले क्रिकेटलाई उचाइमा पुर्याएको बताउँदै पूर्वाधार कारण यस्तो अवस्था आउनु दुःखद् भएको बताए । “नेपाल भन्दा कम वरियता भएका मुलुकहरूमा यहाँ भन्दा धेरैनै पूर्वाधारको विकास भएको छ, हाम्रो भने लाजमर्दो अवस्था छ”, उनले भने ।
नेपाली क्रिकेटका लागि थप सफलताको सिँढी चढ्न मात्र नभएर अहिले प्राप्त उपलब्धि टिकाइराख्न पनि चुनौतीपूर्ण छ । यसका लागि क्यानमाथि आइसीसीको निलम्बन फुकुवा अत्यावश्यक छ । दश वर्षअघि डिभिजन ५ मा रहेको नेपालले प्रतिकूल घरेलु वातावरणका बाबजुद एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
– रासस