ब्लगसोमबार, २१ माघ , २०७५

हवाईजहाज र हवाईअड्डा

कनकमणि दीक्षित

नेपालीको हवाईजहाज मोह कुनै बेला आवश्यकता थियो होला, आज यो लत जस्तो भएको छ ।

रसुवाको स्याफ्रुबेसीबाट गत्लाङतर्फको ठाडो उकालो हुँदै गणेश हिमालको फेदतिर जाँदा तल उत्तरतर्फको एउटा पाखोमा ढुंगाहरूले घेरेको मैदान देखिन्छ ।

यो ५०–५५ वर्षअघि स्विस विकासविद् टोनी हागनले पिलाटस् पोर्टर विमान उत्रन बनाएको ‘ल्यान्डिङ स्ट्रिप’ हो । अवतरण गर्ने यस्तै मैदान उनले बाग्लुङको ढोरपाटन, दोलखाको जिरी र सोलुखुम्बुको अमादब्लमको फेदमा पनि निर्माण गरेथे ।

सन् ’६० को दशकमा तिब्बततिरबाट शरणार्थीको घुइँचो बढेपछि शिविरहरू स्थापना गर्ने क्रममा यी हवाईअड्डा निर्माण गरिएका थिए ।

६ सिटे पिलाटस् पोर्टरले यसरी उच्च हिमाली भेकलाई ‘कनेक्ट’ गरिराख्दा यात्रु विमान ‘डीसी–३ डेकोटा’ ले नेपालका शहरहरूलाई उपत्यकासँग सम्पर्कमा ल्याएको थियो, जतिबेला काठमाडौंबाट पूर्वी पहाड बाहेकका ठाउँ जान पनि वीरगञ्ज–रक्सौल हुँदै भारत छिरेर फेरि नेपाल पस्नुपथ्र्यो ।

‘शानेवानि’ को दोस्रो डेकोटा 9N-AAC जहाज  र ट्वीनअटर जहाज 9N-ABA । - दास फोटो स्टुडियो

त्यो परिवेशमा डेकोटा विमानको योगदान रह्यो, आधुनिक नेपालको आन्तरिक सम्पर्क गाँस्न । उक्त विमानले गौचर विमानस्थलबाट भैरहवा, भरतपुर, सिमरा, धनगढी, जनकपुर, राजविराज, विराटनगर, पोखरा, पालुङटार र अन्य हवाईअड्डाको उडान गथ्र्यो ।

डेकोटाले सम्पर्क बढाउँदै गर्दा सन् १९७३ मा दुई वटा क्यानेडियन ट्वीनअटर विमान शानेवानिले ल्यायो, त्यसपछि एक दर्जन जति थप्यो पनि । यसरी पहाडका कुनाकन्दरामा ‘शर्ट टेक् अफ् एण्ड ल्यान्डिङ’ विमानका लागि धावनमार्ग निर्माण भए, जस्तैः लुक्ला, तुम्लिङटार, सुकेटार, जुम्ला, चौरजहारी ।

आज नेपाल हवाईजहाजमय र हवाईअड्डाको धनी पनि भएको छ । हिमाल–पहाड–तराई गरेर यहाँ ५६ वटा हवाईअड्डा छन् (जसमध्ये ३१ वटा नियमित सञ्चालनमा छन्) । दक्षिण एशियालीहरू नेपाल आउँदा छक्क पर्छन्, “तिमीहरूका कति धेरै विमानस्थल !” भनेर । यो भनाइको आशय यो पनि हो — सर्वत्र हवाईजहाज मात्र चढ्ने नेपाली, कति पैसा रहेछ यिनीहरूसँग !

हुन पनि, कति उड्छन्, नेपाली — व्यापारी, वरिष्ठ राजनीतिज्ञ र कर्मचारी मात्र नभई मध्यमवर्गीय सर्वसाधारण नागरिक । हवाईजहाजकै कुरा गर्दा, ट्वीनअटर अझै पनि उड्दैछ भने अलि ठूलो फ्रेन्च जहाज ‘एटीआर’ धेरै संख्यामा छन् ।

आज आएर एम्ब्राएर जेट विमानले समेत काठमाडौंबाट २५/३० मिनेटमा भद्रपुर र नेपालगञ्ज पुर्‍याउँछन् । हेलिकप्टरको त कुरै नगरौं, बिरामी उद्धार गर्न आवश्यक नै भयो, तर गोसाइँकुण्ड हेली यात्रादेखि बल्थली काभ्रेमा लञ्च जाने नेपाली निक्लिइसके । देशका कुनाकाप्चामा हेलिकप्टरको डट्डट्डट् सुनिन्छ, जबकि पहिला यो खुम्बु, लाङटाङ र अन्नपूर्ण क्षेत्रमा सीमित थियो ।

जसरी हवाई यातायातलाई आज अपनाइएको छ, त्यो हाम्रो मुलुक र समाजको हिसाबले ‘अप्राकृतिक’ छ । आजसम्म यो वास्तविकता भए पनि भोलिको लागि होओइन !

हवाईजहाजको यत्रो बिगबिगीले एकातर्फ हाम्रो लत दर्शाउँछ भने अर्कोतर्फ यहाँको असहज राजकाज र अर्थतन्त्र । राजकाजले राम्रो र सहज सडक सेवा दिलाउन नसकेकोले जनता हवाईजहाज चढ्न थाले, र बानी बस्यो ।

द्वन्द्वकालको बेला हाइवेमा माओवादीको एम्बुसको त्रास र सुरक्षा फौजको चेकजाँच झमेलाको कारण धेरैले हवाईजहाज रोज्न थाले । नेपाल बन्दको बेला सडक रित्याइँदा हवाई मार्ग नै विकल्प भयो ।

राज/लोक मार्गको अस्तव्यस्तता, जाम र ढिलाइ, भारतीय नाकाबन्दीको बेला पनि क्षमता हुनेलाई हवाई यात्रा नै जँच्यो । जताबाट पनि एअरलाइन्स सञ्चालक मालामाल !

सक्ने नागरिकलाई त हवाई यात्राको लत सजिलै बस्यो । विमानस्थल पुग्यो, अत्याधुनिक यात्राको तरिका अपनाएर छिटो गन्तव्यमा पुग्यो । सडकमा हुने जञ्जाल छल्दा आफ्नो खल्ती रित्तिएको पत्तै नहुने ! — या त भन्नुपर्‍यो ‘डिस्पोजेबल इन्कम’ राम्रै रहेछ । मौसमका कारण एअरपोर्ट लाउन्ज्मै तीन घण्टा कुर्नु परे पनि भवितव्य भन्यो, स्मार्टफोन खेलायो !

बिहीबार मात्र म भरतपुरबाट ३५०० रुपैयाँ तिरेर एटीआरमा काठमाडौं आएँ । त्यस फ्लाइटमा शायद एकतिहाइजसो प्यासेन्जर ‘नागढुंगाको जाम’ बाट त्रस्त भई हवाई यात्रामा थिए ।

हिमाली शृंखलाको मध्य भागमा पर्दछ नेपाल । पूर्वको अरुणाचल प्रदेशदेखि पश्चिमको कश्मीर र बल्टिस्तानसम्ममा हामीकहाँ जति छोटो दूरीको विमान सेवा कतै पनि चल्दैन । जताततै राजमार्गको प्रयोग हुन्छ, यदाकदा हेलिकप्टरको (जस्तै पूर्वोत्तर भारत) । सिक्किम जस्तो समृद्ध राज्यले उसको पहिलो हवाईअड्डा पाकयोङ २४ सेप्टेम्बर २०१८ मा मात्र उद्घाटन गर्‍यो ।

आज जुन गतिले पहाड र तराईमा हाईवे बन्दैछन्, सडक यातायातलाई धेरै छरितो, आरामदायी र सुरक्षित बनाउनेछन् । मध्यपहाडी लोकमार्गले परिवहन मात्र होइन, बसोबास र बसाइँसराइ समेतमा परिवर्तन ल्याउनेछ ।

बीपी राजमार्ग विस्तार, नागढुंगा–कलंकी खण्डको (अन्ततोगत्वा) विस्तार, फास्टट्र्याक निर्माण तथा हुलाकी र पूर्व–पश्चिम राजमार्गमा भइरहेको काम — आशा गर्न सकिन्छ कि यो ५००×१०० माइलको मुलुकमा सडक यातायातले ठाउँ बनाउनेछ । त्यतिबेला हवाई परिवहनको ठूलो आर्थिक भार मुलुक/जनताले बेहोर्नुपर्ने छैन ।

आउँदा दिनमा, हुनसक्छ आजका राष्ट्रिय विमान सेवाहरू बस कम्पनीमा परिणत हुनेछन् । सडक संरचनाको विकासले त्यतैतिर डोर्‍याइदिनेछ शायद । जसरी हवाई यातायातलाई आज अपनाइएको छ, त्यो हाम्रो मुलुक र समाजको हिसाबले ‘अप्राकृतिक’ छ । आजसम्म यो वास्तविकता भए पनि भोलिको लागि होओइन !

प्रतिकृया दिनुहोस