टी–२० क्रिकेट: यूएईलाई एक सय ५ रनको लक्ष्य
यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० प्रतियोगितामा नेपालले एक सय ५ रनको औसत लक्ष्य दिएको छ ।
वर्षाका कारण दश ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा एकसय ४ रन बनाएको थियो । जसमा, कप्तान पारस खड्काले शानदार ब्याटिङ गर्दै टोलीका लागि सर्वाधिक २९ रन बनाएका थिए भने सन्दीप जोराले २८ र विनोद भण्डारीले २१ रनको योगदान दिए ।
पाहुना टोली नेपालले आइतबार पनि खराब शुरुवातलाई निरन्तरता दिएको थियो । पहिलो ओभर र तेस्रो ओभरमा ओपनरद्वय पवन सर्राफ (शुन्य रन) र ज्ञानेन्द्र मल्ल (११ रन) लाई गुमाएको नेपालले चौथो ओभरमा दिपेन्द्रसिंह ऐरी (२ रन) को क्षति बेहोरेको थियो ।
ओसिलो पिचमा ब्याटिङ गर्न कठिन हुने भएकाले यूएईले टस जितेर फिल्डिङ रोजेको थियो । श्रृंखलाको अन्तिम खेलमा नेपालले लगातार दुई खेलमा असफल भएका ओपनर प्रदीप ऐरीको ठाउँमा विनोद भण्डारीलाई समावेश गरेको थियो । खेलमा पारस खड्काको सट्टामा ज्ञानेन्द्र मल्ललाई ओपनिङ गर्न दिइएको थियो ।
तीन खेलको टी–२० श्रृंखलामा नेपाल र यूएईले एक–एक खेल जितेका छन् । यसअघिको एक दिवसीय श्रृंखला भने नेपालले २-१ ले जितेको थियो ।