रिपोर्टशुक्रबार, १८ माघ , २०७५

१५ वर्षयताकै उच्च हिमपात- हिमाली भेकमा सहकालको संकेत

मुकेश पोखरेल

लामो समयपछि यस वर्षको हिउँदमा परेको वर्षा र हिमपातले किसानमा खुशी ल्याएको छ।

मुगुको खत्याडमा हिमपातका बेला पराल लिएर घरतर्फ लाग्दै किसान । तस्वीर- अच्युत भण्डारी

सात वर्षपछि परेको अत्यधिक हिमपातले मुस्ताङको घरपझोङ गाउँपालिका-५ का राजन थकाली यस वर्ष खुशी छन्। “खेतीबारी राम्रो हुन्छ, लेकमा राम्रो घाँस पलाउँछ, स्याउ पनि राम्रो फल्छ,” हिउँ परेको खुशी थकालीले एकै सासमा सुनाए। उनका अनुसार हिमपात हुने हिउँदका महीना सुख्खा भएपछि स्याउ बारीमा रोग-किराको प्रकोप बढेको थियो। बालीनालीको उत्पादन भएको थिएन। लेकमा घाँस नपलाएपछि मानिसहरूले पशुपालन घटाउँदै लगेका थिए।

थकालीले दुई रोपनीमा स्याउ लगाएका छन्। रोग किराले स्याउका बोट बचाउनै हम्मे-हम्मे परेको उनी बताउँछन्। “एकदमै खुशी छु, रोग किराले दुःख दिएका थिए, राहत पाइने आशा पलाएको छ,” थकाली भन्छन्।

मुस्ताङको जोमसोमका सानुकान्छा गुरुङले हिमपातका कारण ल्याएको खुशी बाँडे। दुई वर्षदेखि मुस्ताङका मानिसले हिमपातको अनुभव नै गर्न नपाएको बताउँदै उनी भन्छन्, “खानेपानीकै समस्या हुन थालेको थियो, हिउँ परेपछि अब त्यसको चिन्ता हट्यो। स्याउ पनि राम्रो फल्छ। हिउँ पर्नु किसानका लागि वरदान हो।”

जताततै खुशी
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको जनवरी महीनामा भएको वर्षा पछिल्लो १५ वर्षयताकै उच्च हो। विभागकी सिनियर डिभिजनल मेटिरियोलोजिष्ट प्रतिभा मानन्धरका अनुसार जनवरीमा १७६ प्रतिशत वर्षा भएको छ। कति हिमपात भयो भन्ने मापन गर्ने संयन्त्र अहिलेसम्म नेपालमा छैन। हिमाली क्षेत्रमा रहेका स्टेशनमा परेको हिमपातलाई पगालेर वर्षासँग तुलना गरिन्छ। यद्यपि, वर्षासँगै हिमाली क्षेत्रमा राम्रो हिमपात भएको मानन्धर बताउँछिन्।

दिपायल, धनगढी, डडेलधुरालगायत ठाउँमा रहेका स्टेशनमा गरिएको मापनले २०० प्रतिशतसम्म वर्षा भएको देखिएको छ।

हिउँद याममा हिमपात र वर्षा नभएर सुख्खाका कारण बालीनाली हुन छाडेपछि मध्यपहाडी र हिमाली क्षेत्रमा पानीको समस्या चर्किएको थियो। वर्षासँगै भएको भारी हिमपातले त्यस क्षेत्रका बासिन्दामा आशाको सञ्चार गराएको छ। मुगुको छायानाथ रारा नगरपालिका-२ तलिस्थित तुमगाउँका बुद्दी सिंह तिरुवा पानी नपरेर खेतमै सुक्न थालेको गहुँ, जौ, फापर र उवालाई राहत मिलेको बताउँछन्।

हिउँले ढाकिएको दोलखा कालिञ्चोकको कुरी । तस्वीर- शर्मिला बूढाथोकी

कात्तिकमा लगाइएको हिउँदेबाली खेतबारीमा सुकेको थियो। “स्याउका बोट सुक्न थालेपछि चिन्ता बढेको थियो। ७ वर्षयता हल्का हिमपात मात्र हुँदै आएको थियो,” तिरुवा भन्छन्। उनका अनुसार मुगुमा ७ वर्षयता यसपालि उच्च हिमपात भएको हो। मुगुका रारा, मुर्माटप, कालाकाँडा, खेस्मालीका, चंखेली, घुच्चीलेक, छायानाथलगायत उच्च भागमा २ देखि ४ फिटसम्म हिउँ जमेको थियो।

हिमपात हुनुलाई स्थानीय बुढापाका सहकालसँग जोडेर हेर्छन्। हिउँ धेरै परेको वर्ष बालीनाली राम्रो हुने र भोकमरी नहुने खत्याड गाउँपालिका-६ लाम्रुगाउँका उदयराज रावल बताउँछन्।

हिमपात धेरै हुँदा जमिनको माटो फुलेर स्याउ तथा अन्न बाली उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय मुगुका कृषि प्रसार अधिकृत गोविन्द सिजापति बताउँछन्।

उनका अनुसार हिउँ परेको समयमा स्याउमा लाग्ने लाइकिरा, धमिरा र अन्य किरा फट्यांग्राहरू चिसोका कारण जीवन चक्र बनाउन नसकी निष्क्रिय हुन्छन्। “किरा नष्ट हुने र माटो फुलेर जमिनमा उर्बराशक्ति बढ्ने हुँदा अन्य बाली पनि सप्रिने गर्छ,” उनी भन्छन्, “हिउँ धेरै परेको वर्ष स्याउ उत्पादन बढी नै हुने भएकाले बिरुवाका बाक्ला हाँगाहरू काँटछाँट गर्ने अभियानमा छौं।”

पूर्व संकेत
हिउँदमा तराई क्षेत्रमा शीतलहर नचलेपछि जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यस वर्ष हिउँदमा राम्रो वर्षा हुने अनुमान गरेका थिए। “शीतलहर नचल्नु नै हिउँदे वर्षाको पूर्व संकेत थियो,” विभागकी सिनियर डिभिजन मेटिरियोलोजिष्ट मानन्धर भन्छिन्, “तराईमा शीतलहर नहुँदासम्म हरेक वर्ष हिउँदमा नियमित वर्षा हुन्थ्यो। जब शीतलहर शुरु भयो, त्यसपछि नै हो हिउँदे वर्षा कम भएको।”

हिउँदमा पश्चिमी र मनसुनमा पूर्वी वायुको प्रभावका कारण नेपालमा वर्षा हुन्छ। ६ महीना पूर्वी र ६ महीना पश्चिमी वायु नेपालमा सक्रिय हुन्छन्। यस वर्ष हिउँदमा वर्षा र हिमपात गराउने पश्चिमी वायु चीनको पश्चिमी क्षेत्र हुँदै नेपाल प्रवेश गरेको थियो।

पश्चिमी वायूको प्रभावले नेपालमामा मात्र नभएर भारत र पाकिस्तानमा समेत वर्षा र हिमपात भएको छ। विगतभन्दा यस वर्षको हिउँदे वर्षा राम्रो भएको मानन्धर बताउँछिन्। उनका अनुसार यस वर्षको जनवरीमा मात्र ३६.६ मिलिमिटर वर्षा भयो। गत वर्ष ३.७ मिलिमिटर वर्षा भएको थियो। यो हिउँदमा हुनुपर्ने वर्षाको १७ प्रतिशत मात्र हो। त्यसैगरी, सन् २०१७ मा १८.३ मिलिमिटर वर्षा भएको थियो। यो ८८.१ प्रतिशत हो।

साथमा अच्युत भण्डारी, मुगु

प्रतिकृया दिनुहोस