ब्लगशनिवार, मंसिर ४, २०७३

'आइसल्याण्डको सर्प' जस्तो जेल जर्नल

कमलमणि दीक्षित

बीपी कोइरालाले जेलमा लेखेर थन्क्याएको 'डायरी' गणेशराज शर्माको सुझबुझले गर्दा ३३ वर्षपछि छापिएर आज हाम्रो पुस्तक सम्पदा बन्न आइपुगेको छ।

शुरूमा हिमाल खबरपत्रिकामा एक वर्षभित्र 'पुस्तक सम्पदा' का चौबीस ओटा प्रकरण मात्र लेख्ने कुरा भएको थियो। त्यसैले यो पच्चीसौं प्रकरण भनेको हाम्रा लागि फोसामा प्राप्त वस्तु हो।

'फोसा' भन्ने शब्द मूलमा नेवारी हो, ठिक्क अंग्रेजीको 'बेकर्स डजन' भनेजस्तो पसलेले विना मूल्य दिने तर काम लाग्ने कुरा। हामीले यहाँ कुरामा 'फोसा' भने पनि विश्वेश्वरप्रसाद कोइरालाको जेल जर्नल फोसा होइन, एउटा अत्यन्त महत्वपूर्ण दस्तावेज हो। नेपाली भाषामा लेखिएको सर्वथा नयाँ र नौलो वस्तु।

संसारका अरू समृद्ध भाषाहरूमा यस्ता ग्रन्थहरू घनेरा छन्, थुनामा परेका बेला लेखिएका। यूरोपमा त डेढ हजार वर्षअघिदेखि शुरू भएको रहेछ कारावासमा परेका बेलाको सदुपयोग गरी पुस्तक लेख्ने यो प्रवृत्ति। छैटौं शताब्दीमा रोमका विद्वान् बोइथसले जेल परेको बेला एउटा गहकिलो ग्रन्थ लेखेजस्तै तेह्रौं शताब्दीमा इटालीका मार्कोपोलोले चीन पुगेर आएको अनुभव पनि जेनोवाको जेलमै बस्दा लेखेका थिए।

स्पेनका सर्भ्यान्टिसले आफ्ना दुई अजर अमर हास्यपात्र, डन् किहोते र साङ्को पाञ्जालाई जेलमै जन्माएका हुन्। महात्मा गान्धी र नेल्सन मण्डेलाका आत्मकथाहरू पनि कारा–साहित्यकै उपज देखिन्छन्।

भारतकै अबुल कलाम आजाद, जवाहरलाल नेहरू तथा सुभाषचन्द्र बोस जस्ताका कतिपय गहकिला किताबहरू समेत उनीहरूले जेलजीवन बिताएका बेला नै लेखिएका थिए भन्ने बिर्सनु हुन्न।

यस्ता कारा–साहित्य अर्थात् 'जेल लिटरेचर' को इतिहास खोतल्दा संसारमा सयौं कालजयी ग्रन्थहरूको परिदर्शन हुन्छ।

विश्वभरि नै फैलेको यो प्रवृत्ति नेपालमा चाहिं किन हो भित्रिएनछ। मोतीराम भट्टले हाम्रा आदिकवि भानुभक्तीय रामायणका पनि कतिपय अंश जेलमै लेखिएका हुन् भनेका छन्, तर भानुभक्त आचार्य साँच्चै जेल परेका थिएनन्, कुमारीचोकमा थुनिएका मात्र थिए, घर जान नपाउने गरी अड्डामा।

त्यसैले परिभाषाअनुसार भानुभक्तको रामायणलाई कारागार–साहित्य भन्न मिल्दैन। त्यस अवस्थामा झुल्केको हो विश्वेश्वरप्रसाद कोइरालाको जेल जर्नल नेपालमा, महाकवि देवकोटाको भाकामा भनूँ भने 'आइसल्याण्डको सर्प' जस्तो भएर २०५४ सालमा अकस्मात्।

२०१७ फागुन ४ गतेदेखि २०२१ को पुस १ गतेसम्म मात्र लेखेर थन्क्याएको यो 'डायरी' (या चिठी) को सँगालो उसै बेला बेपत्ता हुनसक्थ्यो। तर भएन र ३३ वर्षपछि प्रकाशित हुनसक्यो एकै जनाको सुझ्बुझ्ले गर्दा। त्यस कार्यको श्रेय जान्छ स्व. गणेशराज शर्मालाई।

निर्वाचित बहालवाला प्रधानमन्त्रीलाई 'कु' गरी देशका राजाले नै थुने। त्यस हतास परिस्थितिमा बीपीले यो डायरी लेख्न शुरू गरेको बुझिन्छ। चार वर्षपछि लेख्न छाडिएको यो वस्तु के कसो गरी गणेशराजजीको संरक्षणमा आयो त्यतापट्टि जानु आवश्यक छैन, तर उनले कसरी यसलाई जोगाएर राख्न सके पञ्चायतकालमा त्यतिका वर्ष र यस कृतिमा जोगाउनुपर्ने त्यस्तो के कुरा देखे त्यो जान्नु महत्वपूर्ण हो।

जेल जर्नल प्रकाशित गराउँदा उनले आफ्नो विस्तृत भूमिकामा यसबारे सबै कुरा भनेका छन्। त्यो भूमिका समग्र नै पठनीय छ तर त्यसको शुरूका केही अंश मात्र पढे पनि त्यति मर्म बुझन सकिन्छ। पढी हेरूँ:

'आत्म–संवादको रूपमा लिपिबद्ध यो कृति राजनीतिक महत्वको त छँदैछ, साहित्यका रूपमा पनि अनुपम रहनेछ। विश्वको जेल–साहित्यमा नेपाली भाषाबाट यो एउटा उल्लेखनीय योगदान हुन सक्दछ।

एउटा राजनीतिक चिन्तक र सक्रिय व्यक्तिले बाह्य सम्पर्कबाट विच्छेदित बन्दी–जीवनमा भोगेका अनुभवहरूको यस संक्षिप्त दिनचर्याले त्यस युगको आदर्श, नैतिकता र मान्यताहरूका लागि भएको महान् संघर्षको परिचय दिन्छ। र स्वतन्त्रताविहीन बन्दी–जीवन जुनसुकै समय, स्थान र परिस्थितिमा उत्तिकै अमानवीय हुन्छ भन्ने कुराको बोध गराउन साहित्यको रूपमा पनि यसको महत्व रहिरहनेछ।

यसले नेपालको इतिहासको एउटा अँध्यारो पक्षलाई बुझनसक्ने गरी प्रकाशित गर्दछ। साथै, बीपी कोइरालालाई अनर्गल किंवदन्तीहरूबाट मुक्त पारेर प्रेरणाको अजस्र स्रोतका रूपमा राख्न सहयोग गर्नेछ।'

आफ्नी पत्नीलाई मनमा राखेर उनैलाई सम्बोधन गरी लेखिएको हुनाले साँच्चै नै मार्मिक हुनपुगेका छन् बीपीका उद्गारहरू यस ग्रन्थमा। कुनै कुरा नलुकाई भनेको भान हुन्छ पढ्दै जाँदा।

बीपीले आफ्ना खुशी र दुःखका क्षण, आत्मग्लानि, निरीहता र प्रतिहिंसामा आफू जलेका कुरा समेत नलुकाई व्यक्त गरेको अनुभव हुन्छ। आफूले गरेका गल्तीहरू, आफ्ना कमजोरीहरू केही लुकाउन खोजिएको छैन, सबै कुरा छर्लङ्ग पारिदिएको देखिन्छ।

अभिव्यक्तिको यस्तो इमानदारी राजनीतिक नेताहरूबाट अपेक्षा गरिएको हुन्न। त्यसै हुनाले पनि जेल जर्नल एउटा उत्तमोत्तम कृति मानिएको हुनुपर्दछ। मलाई भने यसमा बीपी जति राजनीतिक नेता हुन् त्यसभन्दा बढी साहित्यिक र सहृदयी व्यक्ति रहेछन् जस्तो लाग्दछ।

साहित्यिक या राजनीतिक हिसाबले जेल जर्नल जति गरिमायुक्त किताब भए पनि त्यसले नेपाली जनमानसलाई कत्तिको छोयो? त्यो केलाउनु समेत हाम्रो चासोको विषय हो। एक पटक त्यता हेरौं।

त्यसको प्रकाशक जगदम्बा प्रकाशनले दिएको तथ्याङ्कले बताउँछ २०५४ सालमा ११०० थान छापेर पुस्तकको विमोचन गरुर्‍यो उसले सर्वप्रथम पुस १६ गते। नपत्याइसक्नु गरेर चारै दिनको बीचमा सबै किताब बिके। अनि तुरुन्तै त्यसलाई पुनर्मुद्रण गरी अर्को २२०० थान निकालियो २३ गते नै।

तर ती पनि १५ दिन नपुग्दै सकिएपछि १५ माघमा जगदम्बा प्रकाशनले दोस्रो संस्करण छपायो पाँच हजार प्रति। यो एक प्रकारको 'रेकर्ड' थियो त्यस बेलाको नेपालमा। आजसम्म अनेक संस्करण तथा पुनर्मुद्रण गरी ३५ हजार जति जेल जर्नल छापी बिक्री गरिसकेको बुझिन्छ जगदम्बाले।

यो पनि त्यस किताबको अर्को रेकर्ड हो जस्तो लाग्छ। किनभने, धार्मिक काव्य र उपन्यासलाई नगन्ने हो भने पाठ्यपुस्तक–इतर कुनै पनि नेपाली पुस्तकले बिक्रीको यो संख्या उछिनेको देखिंदैन।

जनताको मन छोए नछोएको मुख्य प्रमाण भनेको पुस्तकको बिक्री संख्या पनि हो र त्यस कसीमा घोटेर हेर्दा जेल जर्नल खरो उत्रिएको छ। यति भनिसकेपछि त्यसका प्रणेता बीपी कोइराला स्वयम् आफ्नो बारेमा के भन्छन् किताबमा, अब त्यो पनि अलिकति उद्धृत गरेर यस प्रकरणलाई टुङ्ग्याऊँ:

'फेरिदेखि जर्नल (jounal) लेख्ने निश्चय गरेको छु। मेरो स्वयम् आफ्नाप्रति कहिल्यै पनि नसिद्धिने गुनासो छ– ममा नियमितता छैन। अब यस उमेरमा जीवनभरिको अवधि लिएर आएको मेरो बानीलाई बदलिन सकुँला भन्ने लाग्दैन। र साथै मनले यो पनि स्वीकार गर्न म तयार हुनसकेको छैन कि यो बानीको बन्धनबाट मुक्त हुने सामर्थ्य ममा छैन। स्वभावले हारे तापनि मनले हारेको छैन।' (२५ फागुन २०१८)।

प्रतिकृया दिनुहोस