कला/साहित्यशुक्रबार, १८ माघ , २०७५

नारायण वाग्लेको 'कोरियाना कफीगफ’ फेब्रुअरी दोस्रो साता

हिमालखबर

पत्रकार तथा लेखक नारायण वाग्लेको तेस्रो साहित्यिक कृति फेब्रुअरी दोस्रो साता बजारमा आउने भएको छ।

वाग्लेले समाचार कक्षबाटै शुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’कै शैलीमा यो पुस्तक तयार पारेका हुन्। यसअघि दुई उपन्यास 'पल्पसा क्याफे' (२०६१ साल) र 'मयूर टाइम्स' (२०६६) प्रकाशन गरेका उनले तेस्रो पुस्तक भने गैरआख्यान ल्याउन लागेका हुन्। यसको रसास्वादन गरी विधागत वर्गीकरण गर्ने जिम्मा भने लेखकले पाठकलाई नै दिएका छन्।

अढाइ दशकयता सक्रिय पत्रकारितामा रहेका वाग्लेले यस क्रममा नेपाली समाजको सूक्ष्म अध्ययन र विश्लेषण गर्दै आएका छन्। समाचारको खोजीमा डुलिहिँड्ने संवाददाता रहँदै उनले आफूभित्रको साहित्यिक व्यक्तित्वलाई कान्तिपुर दैनिकको शनिबारे परिशिष्टांक 'कोसेली' मा ‘कफीगफ’ स्तम्भमार्फत् प्रकट गर्न थालेका थिए। एउटा तन्नेरी पत्रकारले उतिबेला पहिल्याएको त्यो नवीनताले पाठक घेरा पनि बढाउँदै लग्यो।

वाग्लेले उभ्याएको त्यही जगमाथि २०६१ सालमा उनको पहिलो उपन्यास ‘पल्पसा क्याफे’ को प्रकाशन भएको थियो। ३० पटक पुनर्मुद्रण भइसकेको पुस्तकबारे प्रकाशन संस्था पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, "डेढ दशकपछि पनि यो पुस्तक बर्सेनि तीन हजार प्रति बिक्री भइरहेको छ।" उक्त कृतिले त्यस वर्षको मदन पुरस्कारसमेत पाएको थियो।

‘पल्पसा क्याफे’ मा नेपालमा चलेको दशवर्षे द्वन्द्वमा बाँचेका युवा पुस्ताको कथा बुनेका वाग्लेले ‘मयुर टाइम्स’ मा मधेश विद्रोहको बाछिटा प्रस्तुत गरेका थिए। तेस्रो कृति ‘कोरियाना कफीगफ’ भने लेखक केही वर्षअघि कोरियामा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील लेखन कार्यशालामा सहभागी हुँदाको देन हो।

यसपटक गैरआख्यान लिएर आउनुको कारण खुलाउँदै वाग्ले आख्यान वा गैरआख्यान जेसुकै भए पनि यो साहित्यिक सिर्जना नै रहेको बताउँछन्। "म यो पुस्तकको विधागत पहिचानलाई खुला राखिदिन चाहन्छु," वाग्ले भन्छन्, "पाठकले आफ्नो स्वादअनुसारै यसको मजा लिऊन् र यसलाई वर्गीकृत गरिदिऊन्।"

पुस्तक नियमित बिक्री-वितरण प्रणालीमार्फत देशभरका पुस्तक पसलमा पुर्‍याउने र किताबयात्रा डटकम, सस्तोबुक डटकम, थुप्रै डटकमजस्ता अनलाइन बिक्री सेवामार्फत पनि खरीद गर्न सकिने पब्लिकेशन्स नेपालयले जनाएको छ। यसका साथै संसारभरि अमेजनमार्फत् पनि उपलब्ध गराइनेछ। पुस्तकको मूल्य बाक्लो गाताको रु.४९५ राखिएको छ।

प्रतिकृया दिनुहोस