ब्लगमंगलबार, १५ माघ , २०७५

दिल्ली (विश्वविद्यालय) र काठमाडौं

कनकमणि दीक्षित

यस विश्वविद्यालयले एकातिर हाम्रा लागि नेपाल बाहिरको संसार देख्ने–बुझ्ने मौका दियो भने अर्कोतिर भारतकै महत्वाकांक्षी र अब्बल विद्यार्थीहरूसँग कुममा कुम जोड्ने अवसर जुराइदियो । 

गएको हप्ता दिल्ली विश्वविद्यालय (‘डियू’) को एक टोली काठमाडौं उत्रियो, नेपाली ‘एलम्नाई’ सँग सम्पर्कमा आउन । नेपाली पूर्व विद्यार्थीहरूबाट शुरू गरिएको रहेछ– डियूको आफ्ना एलम्नाईसँगको विश्व सम्पर्क अभियान । उही विश्वविद्यालयको सेन्ट स्टिफन्स् कलेजका ग्र्याजुएट भारतीय राजदूत मञ्जिभसिंह पुरीले भेला गराउन सघाएका रहेछन् ।

यो अवसर रह्यो काठमाडौं र नयाँदिल्ली, विशेषगरी दिल्ली विश्वविद्यालयको सम्बन्ध र सम्पर्कबारे घोत्लिने । नयाँदिल्ली र काठमाडौंको राजनीतिक र भूराजनीतिक सम्बन्धको त कुरै गर्नु परेन — नेपालको दक्षिणतर्फको शहरिया ‘कनेक्शन्’ बनारसबाट शुरू भयो, कम्पनी सरकारको उदयपछि कलकत्ता सर्‍यो भने बेलायतीहरूले राजधानी नयाँदिल्ली सारेपछि चन्द्रशमशेरको बेलातिर काठमाडौंको नजर पनि त्यतै सोझियो ।

आधुनिक युगमा दिल्लीको नेपालमाथिको प्रभाव त्यतिबेला प्रमाणित भयो जब बीपी कोइरालाले (‘आत्मवृत्तान्त’ मा लेखेझैं) सफ्दरजङ्ग हवाईअड्डामा उत्रँदा थाहा पाए कि एकताकाका राजनीतिक सहयोद्धा जवाहरलाल नेहरू त अब छिमेकी प्रधानमन्त्री मात्र रहेनन्, नेपालको सन्दर्भमा उनले बेलायती उपनिवेशको च्यादर समेत ओढिसकेका रहेछन् ।

राणाकालपश्चात्को नेपालका लागि भारतको मुख्य द्वार नै नयाँदिल्ली हुनपुग्यो । बनारस र कलकत्तासँग जस्तो सांस्कृतिक सम्बन्ध बेगर मुख्यतः ‘पावर रिलेशनसिप’ मा आधारित भयो काठमाडौं–दिल्ली सम्पर्क–सम्बन्ध ।

शुरुआतदेखिको कलकत्ता–काठमाडौं र बनारस–काठमाडौं हवाईमार्ग अहिले सुकेका छन् भने दिल्लीलाई दिनको ८ उडानले जोड्दछ । भनिन्छ, राजीव गान्धी क्यान्सर अस्पतालमा तीन बिरामीमध्ये एक जना नेपाली नागरिक हुन्छन् । धनीमानी मेदान्त र फोर्टिस् अस्पताल जालान् र शपिङ्ग दिल्ली र गुड्गाउँमा गर्लान्, धेरैको भारतवर्ष तीर्थाटनको प्रस्थानबिन्दु पनि नयाँदिल्ली नै बनेको छ ।

तर यो स्तम्भकार जस्तो दिल्ली विश्वविद्यालयको ‘प्रोडक्ट’ को लागि भने नयाँदिल्लीको महत्व थप छ । जसरी बनारस र कलकत्ताले आफ्नो विरासत गुमाए, उच्च शिक्षाको सन्दर्भमा पनि त्यस्तै भयो ।

औपनिवेशिक भारत र त्यसपछिको केही समयसम्म पनि आधुनिक शिक्षा लिन जाने नेपाली लखनऊ, इलाहावाद र कलकत्ता विश्वविद्यालय र बनारस हिन्दू विश्वविद्यालय पुग्थे ।

नेपालका धेरै प्रजातान्त्रिक योद्धाहरूले त्यतै उच्च शिक्षा हासिल गरेकोले हाम्रो ऐतिहासिक गाथामा पनि यिनै विश्वविद्यालयको चर्चा पाइन्छ । तर दिल्ली विश्वविद्यालयले भने सन् १९७० को दशकयता नेपाली जनजीवनमा अप्रत्यक्ष प्रभाव पारेको रहेछ, गएको हप्ताको एलम्नाई भेलाले प्रष्ट पार्‍यो ।

त्यतिबेला ‘बाहिर’ पढ्न जाने नेपालीहरु अक्सर ‘कोलम्बो प्लान’ अन्तर्गत डाक्टरी, इन्जिनियरिङ जस्ता ‘टेक्निकल फिल्ड’ मा जताततै पुग्थे । तर कानून, व्यवस्थापन, अर्थशास्त्र, मानवशास्त्र, सोसल वर्क जस्ता विषय पढ्ने धेरै नेपाली दिल्ली नै पुगे । म त्रिचन्द्र र प्राइभेट गरी काठमाडौंमा आई.ए, बी.ए. गरेपछि कानून पढ्न दिल्ली पुगें ।

दिल्ली विश्वविद्यालयले नेपाली विद्यार्थीलाई विशेष ध्यान दिएको त्यतिबेला पनि महसूस भएको हो, र धेरै अरू एलम्नाईको अनुभव पनि त्यही रहेछ ।

डियूले एकातिर हामी ‘फरेन स्टुडेन्ट’ का लागि नेपाल बाहिरको संसार देख्ने–बुझ्ने मौका मिल्यो भने अर्कोतिर भारतकै महत्वाकांक्षी र अब्बल विद्यार्थी समूहसँग कुममा कुम जोड्ने अवसर दियो ।

यसरी भारतको राज्यशक्ति सञ्चालन, यसका प्रभाव र कमजोरी साथै नयाँदिल्लीका शासकहरुको भावभङ्गीमा हेर्न–बुझ्न पायौं, जुन भारतका अन्य शहर या विश्वविद्यालयमा पढ्दा त्यति सहजै हुँदैनथ्यो ।

त्यतिबेला जवाहरलाल नेहरू युनिभर्सिटी (जेएनयू) स्थापना भए पनि खुट्टा टेकिसकेको थिएन । भारतभरिबाटै प्रतिस्पर्धा गरी राजधानी दिल्लीको शक्तिकेन्द्रमा पढ्न आउने विद्यार्थीसँग हाम्रो हेलमेल हुनेभयो — कलेज क्लासरुममा मात्र नभई होस्टलमा पनि ।

भारतको निजामती, प्रहरी तथा परराष्ट्र सेवा (आईएएस्, आईपीएस्, आईएफएस्) को तयारी गर्नको लागि पनि धेरै प्रशिक्षार्थी डियूमै भर्ना हुन्थे ।

यसक्रममा बनेका मित्रहरूको प्रगति र अधोगति नियाल्दा पनि एक नेपालीलाई भारतको सामाजिक, राजनीतिक उतारचढाव बुझ्न सजिलो भयो ।

नयाँदिल्लीमा रहँदा मैले सिकाइ र बुझाइमा जति फाइदा लिएँ, अरूले पनि आफ्नै तरिकाले लिए । दिल्ली नजिकैको राजस्थानको नू भन्ने गाउँमा मैले रक क्लाइम्बिङ्ग गरें र पछि जीवन श्रेष्ठ र पदम घलेसित मिलेर उपत्यकाका रक क्लाइम्बिङ्ग भित्ताहरू पहिल्यायौं । सार्वजनिक यातायातको महत्व मैले पहिलो चोटि बुझेको ‘डीटीसी’ का बस चढ्दा हो, विशेषगरी डियूसामुको माल रोड पुग्ने मुद्रिका सेवामार्फत ।

त्यतिबेला खालिस्तानको अभियान र राज्यको दमनबीच मेरा शिख साथीहरू पिल्सिएको देखें, जसरी पछि गएर माओवादी र राज्यबीच नेपाली नागरिक किचिन पुगे ।

मेरो डियू बसाइ (सन् १९७५–१९७८) को क्रममा इन्दिरा गान्धीको संकटकाल तथा सन् १९७७ को निर्वाचनमा जनता दलको सामु उनको हार पनि प्रत्यक्ष देखें । भारतीय राजनीतिदेखि पत्रकारजगत बुझ्ने मौका मिल्यो, जो भारतको अन्य कुनै शहरमा रहँदा त्यसैगरी पाइँदैनथ्यो होला ।

यो सब अनुभवले दिल्ली विश्वविद्यालयका हामी कतिपयलाई नेपालमा काम लाग्ने बुझाइको बीउ रोपिदियो । कसैले विद्यार्थी राजनीति त्यतै रहँदा गरे, कोही २०४६ सालको परिवर्तनमा क्रियाशील भए ।

साङ्ग्रिला होटलमा गएको हप्ता भएको एलम्नाई भेलामा दिल्ली युनिभर्सिटीको ‘ल फ्याकल्टी’ मा पढेका आजका प्रबुद्ध न्यायाधीश, वकिल तथा शिक्षकको जमात हावी थियो ।

नेपालमा ‘लिबरल आर्टस्’ को पठनपाठन आजैसम्म कमजोर छ । दिल्ली विश्वविद्यालयको अँगालोमा कानूनका विद्यार्थीले समाज, राजनीति, कानूनी राज, विधिको शासन, मौलिक अधिकार, मानवअधिकार तथा सामाजिक न्याय र सुरक्षाको अर्थ र मर्म बुझ्ने मौका पाए ।

यसरी नेपालको कानून तथा न्याय क्षेत्रमा दिल्ली विश्वविद्यालयको त्यत्रो योगदान छ भने उसले हामीलाई राम्रै गरेको मान्नुपर्‍यो ! !

प्रतिकृया दिनुहोस