मलेशियामा सवारी दुर्घटनामा .एक नेपालीको मृत्यु
वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ।
दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो। बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनको भाइ दानकुवीर राईले जानकारी दिए।
मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानामा रहेको केल्विन कम्पनीमा सामान डेलिभरी सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए। मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ। जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी भइरहेको छ । - रासस