कला/साहित्यशनिबार, १२ माघ , २०७५

‘छुटेका अनुहार’ मा भेटिने अनुहार

सविना देवकोटा

कफी खान नजानेर मुख पोलेको चार वर्षपछि कफी बेच्ने काम शुरु गरेका लेखक सायनले मालिक र मजदूरको मनोविज्ञान खुलस्त रुपमा प्रस्तुत गरेका छन् ।

छुट्नु जिन्दगीको नियति हो । आज छुटेका मानिस, वस्तु र प्रत्येक पल भोलिका लागि सम्झना मात्र हुन् । कारणवश छुट्टिएका र अकारणवश छुट्दै गएका ती पल लेखकका लागि संस्मरणका खजाना हुन् । रमेश सायनको पुस्तक छुटेका अनुहार यसैको उदाहरण हो ।

विधा गैरआख्यान भनिएको पुस्तकमा १९ वटा संस्मरणात्मक निबन्ध छन् । यी संस्मरणहरूले लेखकको जीवनका विभिन्न कालखण्डमा भेटेर छुटेका केही अनुहारको फेहरिस्त उतारेका छन् । विभिन्न पात्रको कथा र व्यथा खोतल्ने क्रममा लेखकको अनुभूति ‘नोस्टाल्जिक’ छन् । डटपेन जस्तै हराएको बालसखा बिर्खे कहाँ होला ? आफूसँगै पढेको साथीले अरुलाई जीवन र जगतसँग साक्षात्कार गराउने हेडमास्टर हुँदाहुँदै किन आत्महत्या गर्‍यो ? उनी प्रश्नहरूसँग अतीतमा हराउँछन् ।

गाउँभन्दा तल्लो गाविसमा पार्किङमा राखिएको बसबाट युवतीलाई माओवादीले रंगेहात समातेर ल्याएपछि एसएलसी फेल भएको त्यतिखेरको लेखक सोच्छ, रंगेहात समात्दा केटीको मात्र हात किन समातियो ? केटाको किन समातिएन ? अबोध बालकको मनमा बीजारोपण भएको प्रश्नले एउटै सम्बन्धमा गाँसिएको पुरुषलाई समाज र कानूनले दिने छूटप्रति कटाक्ष गर्दै समानताको खोजी गरेको छ ।

अर्को संस्मरण ‘बाको घडी क्रान्ति’ ले लैंगिक विभेदलाई शालीन शैलीमा धक्का दिएको छ । हातको घडी देखाउँदै ‘तँ यो सेकेन्ड सुई जस्तै चलाख हुनुपर्छ, ...यहाँ बसेर पढिस् भने घन्टा सुई जस्तो लोसे हुन्छस्’ भन्दै मधेश लगिएका बाल्यकालीन लेखकले बुवालाई दिदी पढ्ने ठाउँबारे सोध्दा जवाफ आउँछ, ‘दिदी यहीं (पहाडमा) पढ्छे ।’

‘बाको घडी–चेतनाले दिदी पनि सेकेन्ड सुई जस्तै चलाख हुनुपर्छ भन्ने बुझेको भए ?’ लेखक गम्छन् । नारीवादी कित्तामा उभिन भद्दा आक्रोश र नाराबाजी गर्नुभन्दा बढी असरदार लाग्ने यो बालसुलभ प्रश्नले पाठकलाई भित्रैसम्म झकझक्याउँछ । लेखकले महिला र पुरुषको मात्रै होइन धनी र गरीब, जान्ने र नजान्ने, कथित तल्लो र माथिल्लो जातिबीच हुने विभेदलाई पनि सहज तरिकाले अभिव्यक्त गरेका छन् ।

कफी खान नजानेर मुख पोलेको चार वर्षपछि कफी बेच्ने काम शुरु गरेका लेखक सायनले मालिक र मजदूरको मनोविज्ञान पनि खुलस्त रुपमा प्रस्तुत गरेका छन् । संसारभर मालिकको चरित्र र मजदूरको भोगाइको रङ उस्तै अनुभव गरेका सायनले कामदार वर्गको निरीहता पस्केका छन् । मधेशमा अहोरात्र काममा खटिने र टोलका भुस्याहा कुकुरसँग संवाद गर्ने नियतिमा बाँचेको रामलाल र कोरियामा दैनिक १८ घण्टा काम गर्दा सागबारीमा कैंचीको आवाजमा रमाउने लेखक उस्तै लाग्छ ।

दैनिक जीवनका मसिना कुरा टिपेर त्यसको अन्तरकुन्तरका गहन कुरा ल्याउने लेखकका अनुभूतिले निबन्धसङ्ग्रहलाई ओजिलो र दार्शनिक बनाएको छ । दक्षिण कोरियामा तीस महीना आप्रवासी मजदूरका रूपमा काम गरेका लेखकले काम गर्नु दुःखको बिम्ब नभएको अथ्र्याएका छन् । काममा खटिनुपरेपछि आफूमा अपार जाँगर रहेको पहिल्याएका उनी लेख्छन्, “कोरिया नगएको भए म काम गर्न सक्दो रहेछु भन्ने नै थाहा हुने थिएन ।”

आफूलाई नै केन्द्रमा राख्ने, आफ्नो गल्ती लुकाएर हिरो देखिन खोज्ने विधाका रूपमा बढी प्रयोग हुँदै आएको संस्मरण विधामा लेखक सायनले भने आफ्नो गल्ती–कमजोरीलाई समेत निर्धक्क खुलाएका छन् । यसैले पुस्तकमा इमानदारी झल्कन्छ ।

आफ्नो दिमागको असी प्रतिशत भाग यौन र सपनाले भरिएको भन्ने स्वीकारोक्तिले लेखकप्रति पाठकको विश्वसनीयता बढाउँछ । १३ देखि ३४ वर्षबीचको यो अनुभवसँगै उनले साथीभाइसँग आदर्श छाँट्नुपर्‍यो भने राजनीति, दर्शन आदि सोचेर औकातभन्दा ठूला गफ दिन समेत पछि नपर्ने भन्दै समाजको ढोंगी चरित्रलाई निशाना बनाएका छन् ।

अनुभूति र विचारको पुञ्जले खारिएका संस्मरण पढ्ने क्रममा ठाउँठाउँमा ‘स्पिडब्रेकर’ ले भने नमज्जा लाग्छ । लेखकले संस्मरण लेख्दै जाँदा कोष्ठक चिह्नमा लेखेका ‘अब तपाईंले सरल रेखामा हिंडेको कथा पढ्नुपर्ने भो’, ‘ज्वाइँलाई यो कथामा नमिसाएको भए पनि हुन्थ्यो...’, ‘नीलम पौडेल कथामा फेरि जोडिनेछिन्’ जस्ता कथनले भने पाठकलाई बिच्काएको महसूस हुन्छ ।

यद्यपि जीवनमा विविध कुरा छुटाएर आएकाहरूलाई बितेका धेरै कुरा/अनुहार सम्झाउन र गम्न छुटेका अनुहार ले बाध्य पार्छ । काम, पसिना, प्रेम र जीवनलाई सुन्दर ढङ्गले प्रस्तुत गरेर तीप्रतिको अनुराग प्रसार गर्न पुस्तक सफल छ ।

पुस्तक छुटेका अनुहार
लेखक रमेश सायन
विधा गैरआख्यान
प्रकाशक लिपि बुक्स
पृष्ठ २४७,
मूल्य रु.३४५

प्रतिकृया दिनुहोस