चेल्सीले भित्र्यायो गोन्जालो हिगुइनलाई
इङलिस प्रिमियर लिग क्लब चेल्सीले फरवार्ड लाइनमा भोगिरहेको समस्या समाधानका लागि अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनलाई क्लबमा आबद्ध गरेको छ।
३१ बर्षीय हिगुइन जारी सिजनको अन्त्यसम्म चेल्सीमा रहने गरी इटालियन क्लब युभेन्टसबाट लोनमा लण्डन आएका हुन्। यसअघि उनी लोनमै एसी मिलानमा थिए।
रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो युभेन्टस पुगेपछि असन्तुष्ट देखिएका हिगुइन लोनमा एसी मिलान पुगेका थिए। यसअघि इटालियन क्लब नापोलीमा रहँदा हिगुइन चेल्सीका वर्तमान प्रशिक्षक माउरिजियो सार्रीको पहिलो रोजाइका स्ट्राइकर थिए।
सार्रीले चेल्सीको व्यवस्थापन सम्हालेपछि यो सिजन क्लबको कमजोर पक्ष नै स्ट्राइकर हुन पुगेको छ। रियल मड्रिडलाई महँगो रकम तिरेर भित्र्याइएका अल्भारो मोराटा र आर्सनलबाट आएका ओलिभियर जिरुडको विर्सनलायक प्रदर्शनबाट हैरान सार्रीले आफ्नै पूर्वस्ट्राइकरलाई स्टामफोर्ड ब्रिजमा ल्याएका हुन्।
हिगुइनको आगमनसँगै चेल्सीको आक्रमण पंक्ति मजबुत बन्ने अपेक्षा गरिएको छ। हिगुइन युभेन्टसभन्दा पहिले रियल मड्रिड र नापोलीमा थिए। उनको आगमनसँगै मोराटा भने लोनमा स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने निश्चितजस्तै भएको छ।