धनगढी प्रिमियर लिगलाई आईसीसीको मान्यता
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा २६ माघदेखि शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ।
एकेडेमीले बुधबार विज्ञप्तिमार्फत त्यसबारे जानकारी दिएको हो। एकेडेमीका अध्यक्ष सुवास शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आईसीसीले मान्यतासँगै प्रतियोगिताबारे सबै सदस्य राष्ट्रलाई जानकारी गराएको उल्लेख छ।
देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिक बनाएको डीपीएलको ६ वटै टोलीलाई दुई जना अनिवार्य व्यवसायिक खेलाडी राख्नुपर्ने प्रावधान छ। अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याउन आईसीसीको मान्यता आवश्यक पर्छ। रुस्लान डीपीएलको तेस्रो संस्करण करीब रु. ५ करोड लागतमा फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।
धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया, विराटनगर किंग्स, रूपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स गरी ६ वटा फ्रेन्चाइजी टोलीले प्रतियोगितामा सहभागिता जनाउँदैछन्। देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता २०७३ सालदेखि शुरु भएको हो।