एरिक्सन र डिबाला भित्र्याउने रियल मड्रिडको दाउ
युरोपेली फुटबलको 'जनवरी ट्रान्सफर विन्डो'को अवधि घर्कनै लाग्दा युरोपका प्रतिष्ठित क्लबहरूबीच प्रतिभाशाली खेलाडी भित्र्याउने प्रतिस्पर्धा चुलिएको छ। युरोपेली फुटबलको सर्वाधिक सफलमध्येको स्पेनिस क्लब रियल मड्रिडको चर्चा त्यसमा सबभन्दा अगाडि छ।
समर (ग्रिष्मकालीन) ट्रान्सफर विन्डोमा आफ्ना सर्वाधिक सफल स्टार क्रिष्टियानो रोनाल्डोलाई गुमाएको मड्रिड उनको अभाव पूर्ति गर्ने दबाबमा छ। रोनाल्डोबिनाको मड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा छ र शीर्षस्थानको बार्सिलोनाभन्दा १० अंकले पछि छ।
प्रतिद्वन्द्वी बार्सिलोनाबाट फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका ब्राजिलियन स्टार नेयरमारलाई भित्र्याउने प्रयास गरेको मड्रिडले त्यो प्रयास सफल नभएपछि इङलिस प्रिमियर लिग क्लब चेल्सीका स्टार, बेल्जियम कप्तान एडिन हाजार्डलाई भित्र्याउने प्रयास गरेको थियो। त्यो प्रयास पनि तत्काल सफल नहुने देखिएपछि मड्रिडले इङलिस क्लब टोटनहमका प्लेमेकर क्रिस्टिन एरिक्सनमाथि आँखा लगाएको छ।
गोल डटकमका अनुसार मड्रिडले एरिक्सनलाई सान्टियागो बर्नबाउ भित्र्याउन लोनमा बायर्न म्युनिखबाट खेलिरहेका जेम्स रोड्रिगेजलाई टोटनहम पठाउने तयारीसमेत अघि बढाएको छ। रोड्रिगेजलाई यसका लागि मनाउन सक्दा एरिक्सनलाई भित्र्याउन खर्च गर्नुपर्ने रकम पनि घट्ने मड्रिडको विश्वास छ।
त्यसैगरी मड्रिडले इटालियन क्लब युभेन्टसबाट खेलिरहेका अर्जेन्टिनी स्टार पाउलो डिबालालाई भित्र्याउने प्रयाससमेत गरिरहेको छ। डिबालामाथि इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले समेत आँखा लगाएको छ। तर, मड्रिडले डिबालाका लागि ११६ मिलियन अमेरिकी डलर तिर्ने तयारी गरिरहेकाले उसको दाबी बलियो देखिएको छ।