प्रहरीको इन्काउन्टरमा युवकको मृत्यु
सप्तरीको रूपनी गाउँपालिकामा ९ माघमा भएको प्रहरीको इन्काउन्टरमा एक युवकको मृत्यु भएको छ।
रूपनी चोकदेखि करीब १ किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका दीपेन्द्र चौधरी (३०) को ज्यान गएको हो। जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टका अनुसार जाँचका क्रममा रोक्न खोज्दा चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए। प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकलको पछाडि बसेका उनको मृत्यु भएको विष्टले बताए।
मोटरसाइकल चालक भने फरार भएका छन्। चौधरीको टाउकोमा गोली लागेको छ। उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको एसपी विष्टले बताए।
२ माघ राति प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि हतियारधारी समूह ‘प्रगतिशील तराई मुक्ति मोर्चा समूह’ले गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते यादवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। सो घटनामा चौधरीको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। रासस