परिवार लण्डनमा भएको भन्दै साढे २ करोड ठग्ने महिला पक्राउ
परिवार बेलायतको राजधानी लण्डनमा रहेको भन्दै रु. २ करोड ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ बडीगाड ८ घर भई हाल पोखरा २६ अर्घौं बस्ने स्नेहा बताउने सरिता कुमारी राना (४२) छन्।
पोखराकै विभिन्न ठाउँमा बस्ने चिनजानका व्यक्तिलाई घर जग्गा खरिद गर्न, जग्गासँग घर साट्नेजस्ता प्रलोभन देखाउँदै उनले रकम असुलेकी थिइन्। उनीहरूले घर जग्गा त के आफूले दिएको रकमसमेत फिर्ता नगरेको बताउँदै प्रहरीमा उजुरी दिएपछि राना पक्राउ परेकी हुन्।
कास्कीका प्रहरी प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङका अनुसार फरार रहेकी रानालाई ७ माघमा काठमाडौं दरबारमार्गबाट पक्राउ गरिएको हो। रानाको परिवारका कुनै सदस्य लण्डनमा नरहेको प्रनाउ गुरुङले जानकारी दिए।
उनी पोखरामा फ्ल्याट भाडामा लिएर बसेकी छन्। फ्ल्याटमा काम गर्ने व्यक्ति, निजी सवारी साधन र चालकसमेत राखेकी रानामा उच्च महत्वाकांक्षा देखिएको प्रहरीले जनाएको छ। रानाविरुद्ध ब्यांकिङ कसुरमा उच्च अदालत पोखराबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए।
युवराज श्रेष्ठ, पोखरा