अन्तर्राष्ट्रिय एकदिवसीय र टी–२० सिरिज खेल्न नेपाली टोली युएई प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय एकदिवसीय र टी–२० सिरिज खेल्न मंगलबार युनाइटेड अरब इमिरेट्स् (युएइ) प्रस्थान गरेको छ। नेपालले युएइसँग तीनवटा एकदिवसीय र तीन वटै टी–२० खेल्नेछ।
अन्तर्राष्ट्रिय एकदिवसीय र टी–२० सिरिज खेल्न मंगलबार युएई प्रस्थान गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली । तस्वीर: बिक्रम राई
नेपाल र युएई दुवै आइसीसीको अन्तर्राष्ट्रिय एकदिवसीय (वान डे इन्टरनेशनल) र टी–२० अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र हुन्।
एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने राष्ट्रको मान्यता पाएयता नेपालले खेल्न लागेको यो दोस्रो सिरिज हो। नेपालले यसअघि नेदरल्याण्ड्समा एकदिवसीय श्रृंखला खेलेको थियो। युएइमा नेपालले शुक्रबार (२५ जनवरीमा) पहिले अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नेछ। २६ र २८ जनवरीमा क्रमशः दोस्रो र तेस्रो एकदिवसीय खेल खेल्नेछ। त्यसैगरी टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल ३१ जनवरीमा शुरु हुनेछ।
दोस्रो र तेस्रो टी–२० खेल १ र ३ फेब्रुअरीमा हुनेछन्।
युएइविरुद्ध नेपाली टोली
युएइविरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली टिममा चार जना नयाँ अनुहारले प्रवेश पाएका छन्। यु–१९ टिमबाट पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहरालाई राष्ट्रिय टिममा समावेश गरिएको छ। शरद भेषवाकर भने स्वास्थ्यका कारण यो श्रृंखलामा समावेश भएनन्। टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित राजवंशी, रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, आरिफ शेख, ललित भण्डारी, सुसन भारी र विक्रम सोब रहेका छन्।