नारायणकाजी भन्छन्– डा. केसीसँग वार्ता गर्ने अवस्था नै देखिएको छैन
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्ने अवस्था नै नदेखिएको बताएका छन्।
१५ औं अनशनका क्रममा सरकारका तर्फबाट वार्ता गर्न पहल गरेका श्रेष्ठले हिमालखबरसँग कुरा गर्दै संसदमार्फत् चिकित्सा शिक्षा विधेयक पारित हुने जानकारी दिए। त्यसअघि वार्ताको वातावरण नबनेको उनले बताए। चिकित्सा शिक्षाभन्दा बाहिरका मुद्दा मागमा समावेश गरेका कारण सरकारले डा. केसीसँग वार्ता गर्ने पहल नै नगरेको श्रेष्ठको स्पष्टोक्ति छ।
“डा. केसीले चिकित्सा शिक्षाबाहेक निर्मला हत्याकाण्डलगायत अन्य मुद्दा थप्नुभयो,” श्रेष्ठ भन्छन्, “उहाँले दिएका अभिव्यक्तिको प्रस्तुती शैली पनि राम्रो देखिएन।”
यसअघिको अनशनमा डा. केसीसँग प्रधानमन्त्रीले नै ४ माघमा संसदमा प्रश्नोत्तरका क्रममा स्पष्ट रूपमा धेरै विषय बताइसकेकाले तत्काल वार्ता हुने अवस्था नदेखिएको श्रेष्ठ बताउँछन्।