नेपाली महिला टोली ‘वुमन्स टी-२० स्म्यास’को फाइनलमा
थाइल्याण्डमा जारी ‘वुमन्स टी-२० स्म्यास’मा नेपाल फाइनलमा प्रवेश गरेको छ। इण्डोनेशियालाई ९२ रनको अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।
नेपालले दिएको १२० रनको लक्ष्यमा इण्डोनेशिया ११ ओभरमा २७ रनमै समेटियो। इण्डोनेशियाका लागि युलिया आंग्राएनीले सर्वाधिक १३ रन बनाइन्। अरू खेलाडीले भने ५ रन कटाउन सकेनन्। ४ इण्डोनेशियाली खेलाडी शून्यमै बाहिरिए।
नेपालका लागि कप्तान रूविना क्षत्रीले ३ ओभर बलिङमा २ मेडनसहित २ रन खर्चिएर ३ विकेट लिइन्। सीता रानामगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले १-१ विकेट लिए। रानामगरले ६२ बलमा १ चौकासहित ४८ रनको योगदान दिइन्।
यसैगरी, ३३ बल खेलेकी इन्दु बर्माले २ चौकासहित नटआउट ३७ रन जोडिन्। काजोल श्रेष्ठले १४ रन बनाइन् भने नेरी थापा ५ रनमा बाहिरिइन्।
यससँगै १२ वर्षपछि पहिलो पटक नेपाली सिनियर महिला क्रिकेट टोलीले फाइनल यात्रा तय गरेको छ। अब नेपाली टोलीले उपाधिका लागि संयुक्त अरब इमिरेट्स र थाइल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।