रिपोर्टशुक्रबार, ४ माघ , २०७५

यान्त्रीकरण र कृत्रिम गर्भाधानले संकटमा गोरुको अस्तित्व

गोठबाट हराउँदै ‘हल गोरु’

विनय बञ्जारा

तस्वीरहरू- बिक्रम राई

स्थानीय बासिन्दाको भनाइलाई आधार मान्‍ने हो भने नुवाकोटको तारुकामा गोरु जुधाउने पर्व १८२ वर्षअघि शुरु भएको हो, जुन त्यहाँको संस्कृति बन्‍न थालेको छ। स्थानीयवासीले रमाइलोका लागि शुरु गरेको यो प्रतिस्पर्धा अहिले पर्वको रूपमा परिणत हुँदैछ।

छरछिमेकका मानिस भेला भएर गाउँका बलिया गोरु जुधाउने र त्यसलाई हेरेर आनन्द लिने गाउँले चलनलाई अहिले औपचारिक प्रतिस्पर्धाको रूपमा विकास गरिएको छ। यस वर्ष पनि तारुकामा २२ हल गोरु जुधाइएको छ। तिखा सिङ र अग्ला जुरो भएका डोलाडोला ‘बहादुर’ गोरुहरू प्रतिस्पर्धामा उत्रिए। नुवाकोटका अन्य तीन स्थानमा समेत गरेर जम्मा ४५ हल गोरु जुधाइयो।

“२०६२ सालदेखि एकीकृत रूपमा सबै गाउँलेले एकै थलोमा गोरु जुधाउन थालियो,” माघे संक्रान्ति मेला आयोजक समितिका अध्यक्ष शिव अधिकारी भन्छन्, “त्यसले हामीलाई संगठित बन्‍न र प्रचारप्रसार गर्न सहयोग पुग्यो।” उनको बुझाइमा अहिले तारुकाको गोरु जुधाइ निकै चर्चित भइसकेको छ। एकातिर सरकारको चासो र सहभागिता अनि सञ्‍चारमाध्यमको सहयोगले गोरुजुधाइलाई तारुकाको पहिचान बनाएको उनी बताउँछन्।

इतिहासविद ज्ञानमणि नेपालको बुझाइमा कुनै पनि नयाँ कामले ‘संस्कृति’को रूपमा स्वीकार्यता पाउन २०० देखि ४०० वर्षसम्म लाग्छ। कुनै नयाँ प्रचलन कम्तिमा दुई शताब्दी अनवरत कायम रह्‍यो भने त्यो संस्कृतिमा रूपान्तरण हुने उनको बुझाइ छ। सरकारी अड्डा पुरातत्व विभागले कुनै कृत्रिम वस्तुको आयु १०० वर्ष पुगेपछि ‘पुरातात्विक महत्व’को रूपमा स्वीकार गर्छ। संस्कृतिको रूप धारण गर्न यति नै समय लाग्छ भन्‍ने तथ्यांक पाइन्‍न। “जब मानिसले कुनै पर्व वा उत्सवको रूपमा केही कुरालाई हरेक वर्ष मनाउन थाल्छन्, त्यो नै संस्कृतिको जग हो,” नेपाल भन्छन्।

मेला आयोजक समितिका अध्यक्ष अधिकारी बुझाइमा तारुकाको गोरु जुधाइ पनि संस्कृति बनिसकेको छ। तारुका मात्र होइन, नुवाकोटका विभिन्‍न ठाउँमा यस्तो प्रतिस्पर्धा बढ्न थालेको छ। रसुवाको सीमाक्षेत्र बेत्रावतीमा पाँच वर्षयता यस्तै किसिमले गोरु जुधाइ शुरु गरिएको छ। गत वर्षदेखि पञ्‍चकन्या गाउँपालिकाको घलेभञ्ज्याङ र यस वर्षदेखि शिवपुरी गाउँपालिकाको केन्द्र सेराबगरमा पनि गोरु जुधाइलाई प्रतियोगितात्मक रूपमा आयोजना गरियो।

यही वर्षदेखि छिमेकी जिल्ला धादिङमा पनि यस्तै कार्यक्रम आयोजना गर्न थालिएको छ। यसरी सांस्कृतिक फैलावटले माघेसंक्रान्ति पर्वको महत्व बढाएको अध्यक्ष अधिकारी बताउँछन्।

केही वर्षयता नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदले तारुकाको माघे संक्रान्ति मेलाका लागि वार्षिक बजेट छुट्याउन थालेका छन्। यस वर्षदेखि स्थानीय सरकारले पनि ‘सालबसाली’ खर्चको रूपमा बजेट छुट्याउन थालेका छन्। हरेक वर्ष सरकारका मन्त्रीहरू सहभागी हुन थालेका छन्। जोरु जुधाइलाई सरकारीस्तरबाट पनि प्रबर्द्धन हुन थालेको छ। फैलिँदो स्वीकार्यता र यसको प्रबर्द्धनमा राज्यको बढ्दो भूमिकाले जोरु जुधाइलाई भिन्‍न संस्कृतिको रूपमा उठाउँदै छ।

पत्रकार विष्णु तारुके भन्छन्, “तारुकाका लागि यो दशैंजस्तै महत्वपूर्ण पर्व भइसकेको छ।” खासगरी, भारतमा मजदूरी गर्न जाने तारुकावासी (स्थानीय भाषामा ‘लाहुरे’) हरू दशैं र तिहारमा घर फर्किंदैनन्। उनीहरू माघेसंक्रान्ति मान्‍नचाहीं घर आउँछन्।

पहाडी भेकका धेरै गाउँमा ऋण लिँदा माघे भाका अर्थात् माघमा ऋण तिर्नुपर्ने चलन छ। माघे संक्रान्तिलाई ‘साहु फेर्ने दिन’ पनि भन्‍ने गरिएको छ। वर्षभरि छोराले विदेशमा कमाइ गर्ने, बाबुआमाले गाउँमा ऋण काढेर दशैं, तिहारजस्ता चाडपर्व मनाउने अरू गाउँलेजस्तै तारुकावासी पनि माघमा छोराले पैसा ल्याएपछि ऋण तिर्छन्। “ऋण तिर्न र बिहेवारीको मौसम पनि पर्ने भएकाले माघमा घर फिर्ने चलन भएको हो,” पत्रकार तारुके भन्छन्, “लाहुरे फर्किने भएपछि गोरु जुधाउने मेलाको महत्व झनै बढ्न थाल्यो।”

कहिलेसम्म जुध्लान् गोरु ?
‘चैतमा दुहुनो भैंसी बेचेर गोरु किन्‍नू’ भन्‍ने पहाडी क्षेत्रमा आहान छ। “पहिले-पहिले गर्मी लागेपछि दुहुनो खोज्‍ने धेरै हुन्थे,” तारुकाका विष्णु जमरकट्टेल भन्छन्, “त्यसबेला दुहुनो भैंसीको मोल चर्किन्थ्यो, गोरु सस्तैमा पाइन्थ्यो।” दुई महिनापछि जोत्‍नेबेलामा गोरुको भाउ फेरि आकाशिने हुँदा बाठाले चैतमै किन्थे। वर्षभरि गोरु पालेर किसानले असार र साउन दुई महिना जोत्थे। हिउँद लागेपछि गोरु जुधाउँथे।

पछिल्ला वर्षमा कृषिको यान्त्रीकरण बढ्दो छ, जसको शिकार बनेका छन् गोरु। अहिले बेंसीका फाँट मात्रै होइन, पहाडका सुर्कासुर्कीमा पनि ट्रयाक्टरले जोत्‍न थालिएको छ। जसका कारण किसानको गोठबाट ‘हल गोरु’ धपाइँदैछन्। पुराना स्थानीय जातका गाई पनि नपाल्ने र विकासे जातका गाईलाई कृत्रिम गर्भाधानमार्फत् बाच्छी मात्रै जन्माउने प्रवृत्ती पनि शहरबाट गाउँ छिर्दैछ।

यसले बहर जन्मनै कम भएको किसान जमरकट्टेल बताउँछन्। “यस्तो अवस्थाले गोरुको अस्तित्व नै कहिलेसम्म रहन्छ भन्‍ने प्रश्‍न खडा भएको छ,” पत्रकार तारुके भन्छन्, “अब हाम्रो यो संस्कृति बचाइराख्‍ने मूल चुनौती त्यही हो।”

गोरु जुधाइ हेर्न आएका नवालपरासी पूर्व क्षेत्र नम्बर २ का सांसद तिलबहादुर महत भन्छन्, “अब स्थानीय सरकारले किसानलाई गोरु पाल्न अनुदान दिनुपर्छ।” मानिसले खेत जोत्‍नभन्दा जुधाउनैका लागि गोरु पाल्न थालेपछि उनीहरूलाई अनुदान आवश्यक हुने उनी बताउँछन्। भन्छन्, “त्यसो नगर्ने हो भने ८ दशकभन्दा पुरानो इतिहास बोकेको संस्कृति चाँडै हराउने खतरा छ।”

 

प्रतिकृया दिनुहोस