रेल किन्न सैद्धान्तिक स्वीकृति, पानीजहाज कार्यालय स्थापना
२९ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेल गाडी खरीद प्रक्रिया अगाडि बढाउन यातायात मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी गराएका हुन् ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले पानीजहाज कार्यालय, संगठन संरचना र दरबन्दी स्वीकृत पनि गरेको छ ।
कार्यालयमा इञ्जिनीयरिङ सेवाका उपसचिवस्तरका एक कर्मचारीलाई रजिष्ट्रारका जिम्मा दिइने भएको छ । कार्यालयमा १६ जना कर्मचारी हुनेछन् ।
यस्तै मन्त्रीको तलब र अन्य सुविधावापत भुक्तानी हुने रकम अब आफ्नै मन्त्रालयबाट हुने गरी व्यवस्था मिलाइएको छ ।
यसअघि मन्त्रीको तलब तथा सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लिइने व्यवस्था थियो ।
बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५’ पनि स्वीकृत गरेको छ ।
नवीनतम खोज तथा अनुसन्धान र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तिलाई उक्त पुरस्कार दिइनेछ । दुई लाख अमेरिकी डलर बराबरको कोष स्थापना गरिएको बाँस्कोटाले जानकारी दिए ।