कांग्रेसद्वारा बुटवलमा शक्ति प्रदर्शन
सरकारको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश-५ को राजधानी बुटवलमा शक्ति प्रदर्शन गरेको छ। प्रदर्शनपछि खबरदारी सभा पनि गरेको छ।
प्रदेश-५ को स्थायी राजधानी बुटवलमा राख्नुपर्ने र छिटो नामाकरण गर्नुपर्ने, वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई कार्वाही गर्नुपर्ने, निर्मला पन्तका बलात्कारी र हत्यारालाई पत्ता लगाएर कार्वाही गर्नुपर्नेलगायत माग प्रदर्शन र खबरदारी सभामा गरिएको थियो।
पूर्वपश्चिम राजमार्गमा पर्ने बुटवलको चौराहाबाट शुरु भएको जुलुस स्थानीय मिडिया चोकमा पुगेर सभामा परिणत भएको थियो। जुलुसमा कांग्रेस कार्यकर्ताहरूले सरकारविरोधी चर्का नारा लगाएका थिए।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, प्रवक्ता विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेललगायत नेताले बोलेका थिए। एक वर्षसम्म प्रदेश राजधानी तोक्ने र नामाकरण गर्ने काम नभएकाले सरकारलाई दबाब दिन कार्यक्रम आयोजना गरेको कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले बताए।
दीपक ज्ञवाली, बुटवल