प्रदेश-१ मन्त्रिपरिषद बैठकः रिफ्रेसमेन्ट सेन्टर बनाउने निर्णय
प्रदेश-१ सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सुनसरीमा चालकका लागि आराम केन्द्र बनाउने निर्णय गरेको छ। २ माघको मन्त्रिपरिषद बैठकले रु. १ करोड ६८ लाखको लागतमा कोशी रिफ्रेसमेन्ट सेन्टर स्थापना गर्ने निर्णय गरेको हो।
जमिनको मूल्य बढाइन सक्ने भएकाले सुनसरीको कुन ठाउँमा केन्द्र बनाइने भन्ने सार्वजनिक गरिएको छैन। आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले जग्गा अधिग्रहण गरिने बताए। मन्त्रिपरिषद बैठकको निर्णय सञ्चारकर्मीलाई सुनाउँदै मन्त्री कार्कीले ८ वटा महत्वपूर्ण विषय पारित गरिएको जानकारी दिए।
उनका अनुसार बैठकले प्रदेशसभाको तेस्रो बैठक आगामी २० माघमा गरिने निर्णय गरेको छ। यस्तै, सामाजिक विकास मन्त्रालयको योजना तथा कार्यविधि, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि कार्यविधि स्वीकृत गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई बजेट खर्च गर्ने सम्बन्धमा बैठकले अख्तियारी दिएको मन्त्री कार्कीले बताए।
मन्त्रालयले संघीय र स्थानीय सरकारका विभिन्न निकायलाई पनि बजेट विनियोजन गर्ने नीतिगत निर्णय भएको कार्कीको भनाइ छ। उक्त मन्त्रालयको योजनामा रहेको ‘म अघि बढ्छु’ भन्ने कार्यक्रमका लागि बाटो खुलेको छ। बैठकले मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना सञ्चालन गर्ने कार्यविधि पनि पारित गरेको छ।
कमल रिमाल, विराटनगर