टिप्पणीबुधबार, २ माघ , २०७५

सिम्बुङका भोटे

कमल मादेन

संखुवासभा, भोटखोला गाउँपालिकाको सिम्बुङ गाउँमा तीन थरका भोटेको बसोबास छ, तिनका कथा पनि समयक्रममा पहिचान फेरिएका लिङबो अर्थात् लिम्बू भोटेकै जस्तो रहेछ ।

तस्वीरः कमल मादेन

केही पुस्ताअघि तेह्रथुमका एक लिम्बू अरुण नदी नजिकैको एक गाउँमा शेर्पा युवतीसँग विवाह गरेर उतै बसे । तिनका सन्तान भोटे गाउँमा हुर्के र त्यहींको रहनसहनमा घुलमिल हुँदै भाषा, संस्कृति भोटेकै सिके ।

कालान्तरमा तिनै लिम्बूको सन्तान भोटे भए भन्ने सन्दर्भमा यो पंक्तिकारको ‘लिङबो अर्थात् लिम्बू भोटे’ शीर्षकको लेख हिमाल (१५–२१ पुस २०७५) मा छापियो (हे. लिङबो अर्थात् लिम्बू भोटे) ।

विगतमा मूल पहिचान गुमाएर एउटा जाति अर्कै जातिमा परिणत हुने अवस्था ठाउँ र परिस्थिति अनुसार हुने गथ्र्यो । त्यहीअनुसार भोटे गाउँमा बसेका लिम्बूहरू भोटे भए ।

माथि उल्लिखित प्रसंग संखुवासभाको भोटखोला गाउँपालिकाको हो । यो गाउँपालिकामा भोटे समुदायको जनघनत्व बढी छ । गाउँपालिकाको उत्तरी सिमाना तिब्बत अर्थात् भोटसँग जोडिन्छ ।

तिब्बतबाट किमाथाङ्का भएर नेपाल प्रवेश गर्ने अरुण नदीलाई त्यहाँका भोटेले चाङबु छुम्बुक भन्छन् । तिब्बत अर्थात् भोटबाट बगेर आएको नदीकै कारण उक्त गाउँपालिकाको नाम भोटखोला राखिएको हो । गाउँपालिकाको सिम्बुङ, हटिया, चेपुवा, च्याम्ताङ, हुँगुङ, किमाथाङ्का, थुदाम आदि गाउँमा भोटे समुदाय मात्रै बसोबास गर्छन् ।

सिम्बुङ गाउँमा भिरालो पूर्वी मोहडाको फाँटमा घरहरू छरिएका छन् । यहाँका अधिकांश बासिन्दाले घरका छानो नीलो टिनले छाएका छन् भने कोठा पनि त्यसैले बारेका छन् । गाउँमा तीन थरका भोटेको बसोबास छ । तिनका कथा पनि लिम्बू भोटेकै जस्तो रहेको थाहा पाइयो ।

‘सांस्कृतिक संकटमा हिमाली बौद्ध समुदायः माथिल्लो अरुण उपत्यकाको भोटे जातिको सांस्कृतिक अध्ययन’ (२०७३) शीर्षकमा विद्यावारिधि गरेका डा. मातृका तिम्सिनाका अनुसार, संखुवासभा दक्षिणका राई, याक्खा र लिम्बूहरू उत्तरतिर बसाइँ सर्दै जाँदा कोही भोटे भए, कोही शेर्पा बने ।

दक्षिणतिर बसाइँ सरेका भोटेहरूले आफ्नो थर राई, जिमी, लिम्बू लेख्न थाले । यो लेखोटमा सदियौंअघि भिन्न–भिन्न ठाउँबाट भोटखोलामा बसाइँ सरेर गएकाहरू कालान्तरमा भोटे जातिमा परिणत भएका थप दृष्टान्त प्रस्तुत गरिंदैछ ।

चार समूहमा थिकेक्पा
पहिरन, भाषा, संस्कृति सबै भोटेकै जस्तो भए पनि कद अलि होचोे, नाक केही सुलुत्त परेको थिकेक्पा थरका भोटे सिम्बुङमा धेरै छन् । नजिकैको अर्को गाउँ हटियामा पनि यिनीहरूको बसोबास छ ।

अरुण नदीसँग सम्बन्धित तथ्य र जातजातिबारे आधा दर्जनजति पुस्तक लेखिसकेका डा. तिम्सिनाका अनुसार, थिकेक्पालाई भोटे समुदायभित्रको चलाख समूह भन्दा हुन्छ ।

थिकेक्पाका केही सदस्यले आफ्नो इतिहास थाहा नभएको बताए । एकाध बूढापाकाले ‘हामी उहिले राई थियौं अरे, यहाँ आइपुगेपछि भोटे भइयो’ भने ।

भोटखोला गाउँपालिका–४ को बस्ती गोलाबजार दक्षिणतर्फको हेदाङना गढी पहिले याम्पूmको पकडमा थियो । त्यतैका याम्पूm बसाइँ सरेर सिम्बुङ पुगे होलान् । उनीहरू समयको अन्तरालमा थिकेक्पा भएको हुनुपर्छ । डा. तिम्सिनाले थिकेक्पाको जरा पहिल्याउँदै जाँदा तिनका पूर्वज याम्पूm राई भएको आकलन गर्न सकिने आधार भेटिएको बताए ।

याम्फूलाई २०५८ सालसम्म राई जातिको एक समूह मानिन्थ्यो । २०६८ को जनगणनामा याम्फू छुट्टै जातिका रूपमा सूचीकृत भयो । तिनको कुल जनसंख्या ६ हजार ९३३ रहेको तथ्याङ्कमा देखिन्छ ।

तर, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागले प्रकाशन गरेको ‘सोसल इन्क्लुजन एटलस अफ नेपालः ल्याङ्वेज ग्रुप्स’ (सन् २०१४) का अनुसार याम्फू भाषाका वक्ता संखुवासभा, मोरङ, इलाम, धनकुटा, सुनसरी, भोजपुर, झापा, ललितपुर, काठमाडौंलगायत १४ जिल्लामा जम्मा ९ हजार २०८ जना छन् । यसले याम्फू भाषा बोल्नेहरू याम्फू र राई जातिमा गणना भएका छन् भन्ने दर्शाउँछ ।

थिकेक्पाको संख्याको आधारमा उनीहरू दक्षिणबाट उत्तरतिर गएको अनुमान गर्न सकिन्छ । किनभने दक्षिणतिरको गाउँमा तिनको संख्या बाक्लो र उत्तरतर्फ पातलिंदो छ । थिकेक्पाअन्तर्गत ठुङदेप्पा, पेजरिङ, इगोङ्मो, रम्तेम्बा चार उप–समूह छन् ।

खम्बूबाट खम्बुवा !
सिम्बुङमा बसोबास गर्ने भोटेको अर्को थर हो, खम्बुवा । यो थर सुन्नासाथै राईबाटै बनेको हो कि भन्ने लाग्छ । किनभने राईलाई खम्बू पनि भनिन्छ ।

अर्जुनबाबु माबुहाङ र भरत तुङघङ लिखित ‘हज्शन पाण्डुलिपिमा गोर्खा–खम्बुवान युद्ध’ (२०७०) अनुसार, जातजातिको पहिचान मुख्यतः दुई खालको हुन्छ । एउटा पहिचान परिवार तथा समुदायले दिएको र अर्को पहिचान राज्यबाट सम्बन्धित समुदायलाई उपलब्ध गराइएका कागजातबाट बनेको हुन्छ ।

पूर्वी नेपालमा गोर्खा सेनाले विजय हासिल गर्नुअघि तत्कालीन सेन वंशले लिम्बू र राईलाई ‘राय’ पदवी दिने गथ्र्यो । समयक्रममा अरुण पश्चिममा ‘राय’ पदवी पाएका याम्फू, कुलुङ, थुलुुङ, बाहिङलगायतले आफ्नो थर राई लेख्न थाले । त्यसो त, ताप्लेजुङका लिम्बूले पनि राई लेखेका छन् । ‘मादेन फेन्दुवा वंशावली’ (सन् २००५) मा उल्लेख भए अनुसार मादेनको चौथो पुस्तामा राई लेखिएको भेटिन्छ ।

माबुहाङ र तुङघङले लेखेजस्तै राई शब्द राज्यबाट दिइएको पद्वीबाट अपभ्रंश भई बनेको शब्दावली हो । उहिले अरुण पूर्व तथा दूधकोशी पश्चिमका समुदायले तिनै राईलाई खम्बू भनेर चिन्थे । राईले अन्य समुदायबाट पाएको पहिचान खम्बू हो ।

खम्बूवा थरका भोटेले बताए अनुसार, उनीहरूका पुर्खा सोलुखुम्बुतिरबाट आएका खम्बू थिए । सोलुखुम्बुमा राई समुदायको बाहुल्य छ । खम्बुवा थरका सदस्यहरू पहिले सिम्बुङभन्दा उत्तरतर्फ हटिया भन्ने गाउँमा बसाइँ सरेर आए ।

पहिले सोलुखुम्बुबाट भोटखोलातर्फ आउने बाटो चल्तीमा थियो । हिजोआज भने उच्च हिमाली भूभागमा यात्रा गर्ने यात्रीहरू मात्र त्यो बाटो प्रयोग गर्छन् । खम्बुवाअन्तर्गत इमिक्पा र संजिवा दुई उप–समूह छन् ।

मुनाङ
मुनाङ थर कसरी नामकरण भयो भनेर सोध्दा धेरैले थाहा नभएको बताए । केहीले ‘हाम्रा पुर्खा मनाङबाट यहाँ आएका हुन् अरे ! मनाङबाट आउने जतिको सन्तान मुनाङ भन्न थालियो’ भने । मुनाङलाई माङमाखिम पनि भनिन्छ ।

उनीहरूका कुरा ग्रहण गर्दा मनाङबाट भोटखोला पुगेका व्यक्तिका सन्तान कालान्तरमा मुनाङ भोटे बने भनेर बुझ्न सकिन्छ । सिम्बुङमा मुनाङ थरका भोटेका ३४ घर छन् ।

मुनाङको पुर्खा पहिले मनाङबाट हटिया र त्यसपछि सिम्बुङ आइपुगेको बताउँछन् । तर, कुन समयमा आए भन्ने यकिन जानकारी कसैसँग छैन । सिम्बुङकै फुर्पुनाम्जा मुनाङ भोटेले अनौठो किस्सा सुनाए ।

उनका अनुसार, तिनकै दाजुभाइ खलक करीब तीन पुस्ताअघि सिम्बुङबाट हेदाङना उत्तरपूर्वको उवा गाउँमा बसाइँ सरेर गए । तिनको नाति अहिले संखुवासभाबाट सांसद् छन्, तर उनले राई थर लेख्छन् ।

उनले सुनाएको प्रसंग प्रदेश सांसद् पूर्णप्रसाद राईबारे थियो । पूर्णप्रसादको परिवारले एक÷दुई पुस्ता अघिबाट राई लेख्न थालेका हुन् भनेर बुझ्न सकिन्छ । मुनाङ थरभित्र माङमाखिम उप–समूह पनि पाइन्छ । फुर्पुनाम्जाका अनुसार, उनले काका सम्बोधन गर्ने प्रदेश सांसद् पूर्णप्रसाद माङमाखिम भोटे हुन् ।

सिम्बुङमा तीन थरका भोटे भए पनि उनीहरूको पहिरन एकै छ । पुरुषले चाडबाड र बिहेबारीमा मात्र भोटेको भेषभूषा लगाउँछन् । प्रौढ महिलाहरू अक्सर भोटे पहिरनमै देखिन्छन् । महिलाले लगाउने टोपीलाई छयोमु र कम्मरमा बाँध्ने पेटीजस्तो पहिरनलाई किट्टी भनिन्छ । यसका साथै भोटे महिलाहरूले विशेष प्रकारका मालाहरू पनि लगाउँछन् ।

कुनै जातिको पहिचान भनेको कुनै ठाउँमा कुनै कालखण्डमा विकास भएको भाषा, पहिरन तथा देवीदेवता वा प्रकृति पुज्ने परिपाटीबाट विकसित पृथक् संस्कृति हो । भोटखोलामा सयौं वर्षदेखि विकास भएको भोटे संस्कृति हो ।

यसैले त्यहाँ पुग्ने लिम्बू, राई, याक्खाहरू त्यहाँको संस्कृतिमा घुल्दै एकताका भोटे समुदायको सदस्यमा परिणत भए । यो यथार्थ विचार्दै अब विभिन्न जातजातिले आ–आफ्ना इतिहास कसरी बन्दै आएको रहेछ भनेर अध्ययन गर्नु उपयुक्त हुन्छ । सही इतिहास केलाएर टुङ्गोमा पुग्न नसके भोलिका दिनमा अझ दिग्भ्रमित हुनेछौं ।

प्रतिकृया दिनुहोस