टिप्पणीबुधबार, २ माघ , २०७५

देहातमा अझै चल्छ ‘कम्पनी मुद्रा’

चन्द्रकिशोर

बयलगाडाबाट मोटरसाइकलसम्म पुगेको देहातको कारोबार अझै पनि ढुंगाको टुक्रालाई नापतौलको इकाइ मानिरहेको छ, सीमावर्ती बजारमा ‘कम्पनी मुद्रा’ को प्रचलन हट्न सकेको छैन।

रूपनगर, सप्तरीको हाटबजारको किनमेल । तस्वीर- चन्द्रकिशोर

देहातका गाउँबजारमा वस्तु विनिमयको पुरानो चलन अझै देखिन्छ। अन्नले भाँडाकुँडा र अन्य सामान साटेर गर्जो टार्नेहरू प्रशस्तै छन्- विशेषगरी बनिबुतो गर्नेहरू। काम गरेको ज्यालावापत अन्न लिने-दिने चलन पनि कायमै छ। बजारमा अन्न बेचेर पैसा लिने र त्यसबाट आवश्यकताअनुसारको किनमेल गर्ने ग्रामीण अर्थतन्त्रको नियमित प्रक्रिया नै भयो। अन्नका खरीददार देहातका बजारको मुहानमै बसेका हुन्छन्। तिनलाई ‘पल्ला’ भनिन्छ। अगहन (मंसीर) को महीनामा त दुकानदारले सोझै अन्न लिएर सामान दिने गरेको पनि देखिन्छ।

प्रशस्त उत्पादन गर्ने गिरहतहरू वर्ष दिन खान पुग्ने छुट्याएर फाजिल अन्न गोलामा बेच्छन्। खासखास मौसममा अन्न किन्न गाउँमै आउने व्यापारीहरू पनि हुन्छन्। यस्ता व्यापारी पहिले घोडा लिएर आउँथे, पछि साइकल लिएर पनि आउन थाले, अहिले ट्र्याक्टरको चलन छ। किसानहरू पनि पहिले बयलगाडामा अन्नका बोरा हालेर आकर्षक भाउको खोजीमा ठूला बजारतिर जान्थे।

काम गरेको ज्यालावापत अन्न लिने चलन भने अचेल निकै कम भएको छ। कृषि मजदूरहरूले समेत नगदमै भुक्तानी पाउन थालेका छन्। नगद व्यवहार बढ्दो छ। रेमिटेन्सले नगद आर्जनसँगै कारोबार बढाएको छ। यी सबैका बावजूद पनि देहाती बजारमा पल्लावालहरू छन्, ग्रामीण कारोबारमा अन्न महत्वपूर्ण माध्यम बनिरहेकै छ।

पहिले गाउँमा दूधको खरीदबिक्री हुँदैनथ्यो- पैंचो लिई-दिई गर्जो टार्नेबाहेक। बरु घिउ बेचिन्थ्यो, घिउका व्यापारी किसानका घरघरै पुग्थे। हिजोआज भने दूध किन्नु परे किसानसँग नभई व्यापारीकहाँ पुग्नुपर्छ। दूध गाउँ-गाउँबाट नियमित संकलन भई डेरी उद्योगमा पुगिरहेको छ। यसका लागि किसान व्यापारीसँग पहिले नै अनुबन्धित भइसकेका हुन्छन्। कतै डेरी उद्योग गाउँसम्म पुगेको छ त कतै ग्रामीणवासी दूध बेच्न बजारसम्म पुगिरहेका छन्। राजविराजमा किसानले हाटमा दूध बेच्छन्। कलैयामा दहीको बजार लाग्छ। दही बेच्नेहरू घर-घर चहारिरहेका पनि देखिन्छन्।

भारतीय सीमासँग जोडिएका क्षेत्रमा भारतीय नोट चलनचल्तीमा छ। कुनै वस्तुको मूल्यको कुरा हुँदा त्यो भारतीय मुद्रामा हो भनेर बुझ्नुपर्छ।

देहातमा ढुवानीको साधन मानिस, बयलगाडाबाट साइकल हुँदै मोटरसाइकलसम्म पुगेको छ। निम्नमध्यम वर्गीय तहको ठूलो हिस्सा मोटरसाइकलमा निर्भर हुँदै गएको छ। गाउँ देहातमा दूध, कुखुरा र माछा कारोबारको ठूलो हिस्सा मोटरसाइकलमाथि अभ्यस्त छ।

भारतीय सीमासँग जोडिएका क्षेत्रमा भारतीय नोट चलनचल्तीमा छ। कुनै वस्तुको मूल्यको कुरा हुँदा त्यो भारतीय मुद्रामा हो भनेर बुझ्नुपर्छ। भारतीय मुद्रालाई ‘कम्पनी’ भन्ने पिँढी अझै छ। जग्गा खरीदबिक्री वा दाइजो लेनदेनको निर्धारण भारुमै तय हुन्छ। मुद्रास्फीतिका कारण पहिलेका मुद्राका विभिन्न इकाइहरू लोकव्यवहारबाट हराए पनि आहानको रूपमा ज्यूँदा छन्।

देहाती खरीददारीको पारम्परिक व्यवहारबाट सर्वथा अनभिज्ञ नयाँ पुस्ताले यी आहानको भेउ पाउँदैन। जस्तो- ‘एक फूटी कौडी ना देहम’, ‘धेला के काम ना करेला’, ‘चमडी जाय पर दमडी न जाय’, ‘पाई-पाई के हिसाब लेहम’, ‘सोह्र आना सच।’

नाप तौलका कनवा, सेर, पसेरी र मनजस्ता इकाइहरू अब किलोग्राम र लिटरमा परिवर्तन भएका छन्। तर पनि, प्रमाणित ढक-तराजु नहुँदा ग्राहक ठगिइरहेका हुन्छन्। ढुंगा वा इँटाको टुक्रालाई निश्चित इकाइ भन्दै ठग्ने दुकानदार पनि छन्। यसतर्फ स्थानीय सरकारको ध्यान जानु जरूरी छ। त्यसैगरी नेपाली बजारमा नेपाली दर र नेपाली रुपैयाँको प्रभावकारी चलन बारेचाहिँ संघीय सरकारले ध्यान दिनु जरूरी भइसकेको छ।

प्रतिकृया दिनुहोस