अन्तर्वार्ता/विचारबुधवार, मंसिर १, २०७३

“थुप्रै धुर्मुस–सुन्तली जन्माउनु छ” (अन्तर्वार्ता)

हिमालखबर

महाभूकम्पले लतारेको डेढ वर्षमा पनि सरकारले पुनःनिर्माण थाल्न नसकेर निराशा चुलिएको बेला हास्यकलाकार दम्पती धुर्मुस र सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे)ले सिन्धुपाल्चोकको गिरानचौरमा आशाको झण्डा ठड्याएका छन्।  भूकम्प पीडितका लागि गिरानचौरमा ६५ घरको एकीकृत बस्ती निर्माण गर्न सफल दम्पतीका सीताराम कट्टेलसँग हिमालका बच्चु बिकले गरेको कुराकानीको अंश ।

सीताराम कट्टेल (धुर्मुस) । तस्वीर: बिक्रम राई

एकीकृत बस्ती निर्माणमा कसरी लाग्नुभयो? 
राहत बाँडियो, चर्पी र विद्यालय बनाइयो अनि मनमा के लाग्यो भने यो त विकासको मूल फुटाउने अवसर पनि हो। प्रकोपपछि पुनःनिर्माण गरिएका देशहरूबारे अध्ययन गर्दा नेपालमा एकीकृत बस्ती विकास सबभन्दा उत्तम मोडल हुन्छ भन्ने लाग्यो। यसमा सरकारलाई घचघच्याउनेतिर लाग्दा महामूर्ख भइने खतरा रहेको र देश बनाउने दायित्व सबैको भएकोले यता लागियो।

गाह्रै भयो होला नि!
गाह्रो भो नि! बिहान ३ बजे उठेर धादिङ, गोरखाहुँदै बेलुका ५ बजे काभ्रेको परिगाउँ पुग्नु सजिलो हुने कुरै भएन। एकीकृत बस्ती विकासका लागि जग्गा मिल्नु पर्‍यो। जग्गा एकीकरण र एकीकृत बस्ती सबभन्दा महत्वपूर्ण र गाह्रो विषय। जग्गा एकीकरण गरेर एकीकृत बस्ती बसाउँ भन्दा मान्छेहरू गलल्ल हाँसे। 'टहरा बनाउन आएको कि गोलभेंडाको टनेल' भन्न थाले।

सरसफाइका लागि अमेरिकाबाट आएको साढे १७ लाख रुपैयाँमध्ये राहत, चर्पी र स्कूलमा खर्च गरेर ८ लाख बाँकी थियो, तर कामको लागि सहमति नै नहुने। काभ्रेको पहरी बस्तीमा बल्ल–बल्ल २० घर मिल्ने भएपछि बेल्चा, गैंती र एकजना इन्जिनियर लिएर गा'को फेरि मान्छेहरू मिल्दैनन्। राति ११ बजे मुश्किलले सहमति जुटाएर सुतेको एकजना रुँदै टेन्टमा आए। अनि त लौ यहाँ बनाउन सकिन्न भन्ने भो। फेरि सोचें, बदल्नुपर्ने त यही समाजलाई हो, कुनै पनि हालतमा यो बस्ती बनाउँछु। अनि श्याम पहरीजीले जग्गा पनि दिनुभयो र काम थालियो। त्यसपछि पनि कोही गुण्डागर्दी गर्ने, कोही राजनीतिक दबाब दिने। श्रमदानका लागि बोलाएका सैनिकहरूलाई फिर्ता गर्नेसम्मका कसरत भए। त्यसमाथि छ– चितुवाको आतंकमा टेन्टको सुताइ र दिनभरि काम। यति गर्दा'नि मान्छे पछाडि लाग्ने!

सित्तैंमा काम गरिदिने सेना फर्केपछि पैसाको अभाव भयो। करोड लाग्ने ठाउँमा लाख पनि छैन। कुञ्जनाले 'घर बेचिदिऔं, जति पुग्दैन त्यति पैसा हालौं, तर यो बनाएरै छोडौं' भनेपछि आँट आयो। धुर्मुस र सुन्तलीले घर बेच्ने कुरा मिडियामा आएपछि कतिले 'घरै बेच्नु पर्दैन, हामी सहयोग गर्छौं' भने। अनि ७० दिन खटेर साढे ६७ लाखमा चर्पी, धारा र बगैंचासहितको १८ वटा घर बनायौं। त्यसमा हामीले साढे १९ लाख लगायौं। पछि १३ लाख जति उठेपछि हाम्रो ९ लाख जति मात्रै खर्च भयो।

गिरानचौरमा चाहिं के–के भयो?
काभ्रेको पहरी गाउँमा जुन काम गरियो, त्यो सोचेजस्तो एकीकृत बस्ती नभएकोले एक पटक बल गर्ने कि भन्ने लागिरहेको थियो। अनि सिन्धुपाल्चोकका थुपै्र ठाउँ गएँ। त्यही क्रममा मेलम्चीमा रामबहादुर तामाङसँग भेट भएर गिरानचौर गइयो। ठाउँ एकदमै उपयुक्त छ, तर पैसो छ जम्मा एक लाख ७४ हजार।

गाउँका चारसय परिवारमध्ये तामाङ समुदायका ६५ घरको एकीकृत बस्ती बनाउन रु.५ करोड लाग्नेभयो। हिसाब गर्दा काभ्रेमा जोडिएको हाम्रोे घरै बेच्दा पनि नपुग्ने देखिंदा फसाद पर्‍यो। साथीभाइसँग सल्लाह लिंदा कतिले 'बाबु धेरै नबहुला, तेरो त्याग कसैले देख्नेवाला छैन' भने।

भूकम्पपीडितहरूले बर्खामा आश्रय पाएका छैनन्, साथीहरू त्यसो भन्छन्। उता दलहरू निदाएका छन्, सरकार र एनजीओ/आईएनजीओहरू कोही स्वच्छ ढंगले लागेका देखिन्न। केही त गर्नै पर्ने स्थिति छ। त्यही बेला कुञ्जनाले 'सहयोगको लागि सामाजिक सञ्जालमा आह्वान गरौं' भनिन्, मेरो आँट बढ्यो।

धुर्मुस–सुन्तली फाउण्डेशन खोलेका थियौं, अब संस्थागत हुनुपर्ने भयो। पुनःनिर्माण प्राधिकरणमा स्वीकृति लिन जाँदा 'कति पैसा छ?' भनेर सोधे। फ्याट्टसँगले 'एक लाख ७४ हजार' भन्दा सबै गलल्ल हाँसे। उनीहरू हाँसे पनि 'म आईएनजीओ होइन, नेपालीको छोरो हुँ, नेपालीले आफ्नो देश बनाउन मलाई सहयोग गर्छन्' भनेर कन्भिन्स गरें। थप कागजात जुटाउँदा कतिलाई थर्काएँ, कतिसँग हात जोडें।

महाभूकम्प गएको एक वर्ष पुगेको दिन १२ वैशाखमा प्रधानमन्त्रीले चौतारा र राष्ट्रपतिले लाप्राकमा पुनःनिर्माणको शिलान्यास गर्नुभयो। कुञ्जना र म पनि बाइकमा गिरानचौर गएर शिलान्यास गर्‍यौं।परकम्पन आएको २९ वैशाखमा डोजर लगेर काम थाल्यौं। डेढ महीना त भत्केका घरहरूका ढुङ्गामाटो पन्छाउनै लाग्यो। छिटोका लागि आफैंले पनि डोजर चलाएँ। बिहान ३ देखि राति १० बजेसम्म काम गरियो। आफैं काममा गएपछि सबै आइहाल्थे।

कुञ्जनाले भने झैं एक महीना नबित्दै कतार, दुबई, मलेशियालगायतका देशमा काम गर्ने नेपालीहरूबाट सहयोगको बाढी आयो। यता, दुइटै मिर्गौला फेल भएका र ह्वील चियरमा हिंड्नेहरूले पनि सहयोग गरे। कसैले 'अब यिनीहरू पैसा कुम्ल्याएर भाग्छन्' भन्ने हल्ला फिंजाएकै बेला हामीले सहयोग लिन स्थगित गरेको प्रचार–प्रसार गर्नुपर्‍यो।

गिरानचौरमा चाहिं जग्गा सहजै पाउनुभयो?
एकइन्च जमीनका लागि खुकुरी निकाल्ने समाज हो, हाम्रो। त्यत्रो जमीन एकीकरण गर्न कुनै सूत्र बाँकी राखिएन। कतिलाई मामा, कसैलाई भिनाजु बनाएँ। कतिका अगाडि हात जोडेर लम्पसार परें।

एउटा जाबो लाइसेन्स नवीकरणमा पनि महाभारत गर्नुपर्ने सरकारी संयन्त्रको गाउँदेखि मन्त्रालयसम्म कार्यालय धाउँदा कस्तो भो, के भन्नु। त्यसमाथि सरकारले असार, साउन र भदौ तीन महीना ढुङ्गा, गिटी, बालुवा उठाउन रोक लगाएको छ। दिनभरि सम्यायो, राति पानीले बगाउँथ्यो।

अर्काको पैसामा काम गर्‍या छ, केही भन्लान् भन्ने चिन्ता छ। जे मिल्यो, त्यही खायो। जहाँ पायो, त्यहीं सुत्यो। अर्काले कस्तो दुःख गरेर कमाएको पैसा, सकेसम्म जोगाउनुपर्ने हुन्थ्यो। त्यसका लागि पहिला आफू नै खटिनुपर्थ्यो। बिहान पहिले भारी बोक्ने म नै हुन्थें। यो केस त्यसै पाक्या होइन क्या!

यति गाह्रो झेलेर पनि काम त गरेरै छाड्नुभयो, हगि!
देश युवाले बनाउने हो, तर हाम्रो देशमा बूढा भएपछि समाजसेवा गर्न निस्कने चलन छ। जसले आफ्नै ख्याल राख्न सक्दैन, उसले समाजको सेवा गर्ने रे! विश्वका विकसित देश मान्छेले नै बनाएका हुन्, कुनै पशुले होइन। हामीले किन गर्न नसक्ने? यो कुराले पनि कुञ्जना र मलाई प्रेरित गरिरहन्छ।

घर पनि बेच्नु भएछ, खर्च कसरी चलेको छ?
कलाकारितामा लागेर जोगाएको पैसाले धापासीमा बनाएको साढे दुईतले घर बेचेर कुसुन्तीमा सानो भुइँघर बनाएका छौं, त्यहीं बस्छौं। छोरीलाई भर्खर मन्टेसरीमा हालेकाले खर्च धेरै हुँदैन, तर बूढाबूढीले परियोजनाबाट एक पैसा पनि व्यक्तिगत खर्च नलिने हुनाले त्यसकै लागि घर बेच्यौं। २० वैशाख २०७२ यता भूकम्पपीडितका लागि काम गरिरहेका छौं, कमाउन पाइएको छैन।

छोरी सानैदेखि बिरामी रहिछन्, उपचार कस्तो भइरहेको छ?
जन्मेको १६ दिनमा संक्रमण भएर छोरीको दाहिने खुट्टाको घुँडा बिग्रिएको छ। डाक्टरले उपचारका लागि पूरै एक वर्ष अस्पतालमा राख्नुपर्छ भनेका छन्, त्यो पनि विदेशमा। त्यसका लागि छोरीलाई अलि बढ्न दिनुपर्छ।

छोरी बिरामी छिन्, घर बेच्नुभयो, तपाईंहरू समाजसेवामा खटिराख्नुभएको छ। केका लागि यति दुःख?
जसरी बुझ्दा पनि हुन्छ, तर हामी बालबालिका र सबैका लागि पवित्र आत्माले लागेका छौं। चर्चित हुन वा पैसाका लागि नभएर आशाको त्यान्द्रो मरिरहेको समाजमा केही गरौं भनेर हो। हामी पनि अरु देशका मान्छे जस्तै गर्न सक्छौं भनेर देखाउनलाई हो। देश भत्किएको, बिग्रिएको देख्दा मन पोल्छ नि! हो, त्यसलाई शीतल पार्नलाई हो।

दिक्क लाग्दैन?
१७ सय रुपैयाँ र एउटा तन्ना बोकेर राजधानी पसेको युवक हुँ म। काठमाडौंमा दुई वर्ष संघर्ष गर्दा कति रात भोकै सुतियो। त्यति बेला पनि लाग्थ्यो, म त घर फर्कें भने दुईछाक खान पाउँछु, कतिलाई त त्यो सुविधा पनि छैन। हामी नेपाली कसैलाई पनि त्यस्तो असुविधा हुनुहुँदैन भनेर लागेको मान्छेले समस्या पर्दा किन दिक्क मान्ने?

अबको योजना के छ?
सकिएला/नसकिएला आफ्नो ठाउँमा छ, तर देश बनाउने। सरकारले योग्य ठहर्‍याएर कामको जिम्मेवारी दियो भने फाउण्डेशनबाटै गर्ने नत्र कला क्षेत्रबाटै सामाजिक काममा जुटिराख्छौं। हामीलाई थुप्रै धुर्मुस–सुन्तली जन्माउनु छ।

यो पनि पढ्नु होस्- सत्कर्मको उज्यालो: गिरानचौर एकीकृत बस्ती

प्रतिकृया दिनुहोस