ब्लगशनिबार, २८ पौष , २०७५

एसएलसी दिने प्रथम चार महिला

भैरव रिसाल

नारी शिक्षाको अवस्था दयनीय रहेको राणाकालमा विभिन्न पृष्ठभूमिबाट आएका चार महिलाले प्रवेशिका परीक्षा दिएका थिए ।

वि.सं. १९८७ सालको जनगणना अनुसार नेपालको जनसंख्या रहेछ, ५५ लाख ३३ हजार ५६४ । त्यसबेला नारी साक्षरता कति प्रतिशत थियो भन्ने तथ्याङ्क भेटिंदैन । तथ्याङ्क नपाइए पनि राणाकालीन नेपालमा महिलाहरू विद्यालय जाने चलन नरहेको तथ्य नौलो होइन ।

पढ्ने महिलाहरू अलिअलि थिए, जसले घरमै बन्दोबस्त मिलेर पढ्न पाएका हुन्थे । अधिकांशमा स्वस्थानी व्रतकथा पाठ गर्न सक्ने आकांक्षा हुने भएकाले महिलाले त्यति भन्न सके पर्याप्त मानिन्थ्यो ।

राणा शासकहरूकहाँ भने पत्यारवाला पण्डितहरूबाट छोरासँगै छोरीलाई पनि दरबारमै पढाइँदो रहेछ । कविशिरोमणि लेखनाथ पौडेलले भीमशमशेर र तेजशमशेरकहाँ गएर केटाकेटीलाई पढाएका रहेछन् ।

त्यो परिस्थितिमा जनताका छोरीचेलीले विद्यालय शिक्षाको भर्‍याङ उक्लिंदै प्रवेशिका परीक्षा दिनु चानचुने कुरा थिएन । २००४ सालमा प्रवेशिका परीक्षामा सहभागी हुनेमा चार छात्रा पनि थिए ।

ती ऐतिहासिक महिला
वि.सं. २००४ मा पहिलो पटक चार जना महिलाले प्रवेशिका परीक्षा दिए । उतिबेला एसएलसी परीक्षालाई प्रवेशिका भनिन्थ्यो । नेपालमा एसएलसी बोर्ड स्थापना भएपछि परीक्षा दिने प्रथम चार महिला थिए– साधना प्रधान, साहना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंह ।

परीक्षा दरबार स्कूलमा भएको थियो । राजा महेन्द्रका प्रमुख सचिव लोकदर्शन बज्राचार्यले संस्मरणात्मक पुस्तक जीवनका पानाहरू मा लेखेका छन्, “ती महिलाहरू दरबार स्कूलको परीक्षा हलमा आउँदा बाटोभरि युवाहरू लाइन बसी हेर्थे ।

तीमध्ये अंगुरबाबा जोशी उलिनकाठमा बसी छाता ओढेर परीक्षास्थल आउँथिन् ।” कति जनाले परीक्षा दिएका थिए भन्ने नखुले पनि उक्त वर्षको प्रवेशिकामा ८४ जना उत्तीर्ण भएछन् । परीक्षामा भवानीशंकर राजवंशी बोर्ड फस्ट भएका थिए । इतिहासमै पहिलो पल्ट चार महिला प्रवेशिका परीक्षामा सम्मिलित भई कीर्तिमान कायम गरे ।

नेपालमा नारी शिक्षाको जग कमजोर रहेको अवस्थामा ती चार महिला कसरी प्रवेश परीक्षा दिने तहसम्म पुग्न सफल भए त ? परीक्षामा सहभागी भएका चार जनामध्ये साधना र उनकी बहिनी साहना बर्मामा हुर्केका हुन् ।

उनीहरूको परिवार दोस्रो विश्वयुद्धको बेला भागेर नेपाल आएको थियो । शिक्षाको जग उतै बनेकाले नै २००४ सालमा उनीहरूले यहाँ परीक्षा दिने हिम्मत गरे । अंगुरबाबा जोशीले बुहारी भए पनि विभेदकारी परम्परा विरुद्ध साहसिलो कदम चालिन् ।

उनले उच्च शिक्षा स्नातकोत्तर समेत अध्ययन गरी पद्मकन्या कलेजको सञ्चालनमा नेतृत्व समेत गरिन् । साहनाले त धेरै पल्ट मन्त्री हुनुका साथै कम्युनिष्ट पार्टीको नेतृत्व समेत गरिन् ।

नेपालमा एसएलसी बोर्ड स्थापना अघि भारतको विश्वविद्यालयसँग सम्बन्धन लिएर म्याट्रिकुलेशन अर्थात् कक्षा १० को परीक्षा सञ्चालन गरिन्थ्यो । अझ्, त्यसभन्दा पनि अगाडि त म्याट्रिकुलेशन परीक्षा दिन भारत पुग्नुपथ्र्यो ।

भारतमा परीक्षा
म्याट्रिकुलेशन परीक्षाका लागि नेपाली विद्यार्थीले वि.सं. १९८५ अगाडिसम्म भारतको कलकत्ता वा पटना जानुपथ्र्यो । परीक्षा दिन जाने सबै विद्यार्थीको खर्च सरकारले बेहोर्दो रहेछ । पछि कलकत्ताको तुलनामा दूरी र खर्च कम पर्ने हिसाबले नेपाली विद्यार्थी परीक्षा दिन केही वर्ष पटना गए ।

नेपालमा एसएलसी बोर्ड स्थापना भएपछि परीक्षा दिने प्रथम चार महिला थिए– साधना प्रधान, साहना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंह।

म्याट्रिकुलेशन परीक्षाका लागि दरबार हाईस्कूलबाट टेस्ट परीक्षा पास गरेपछि कलकत्ता विश्वविद्यालयको इन्ट्रान्स परीक्षा पास गर्नुपथ्र्यो । एक अभिलेख अनुसार, कलकत्तामा म्याट्रिकुलेशन परीक्षाको इन्ट्रान्स दिने शासक वर्गका राणाहरूमध्ये पहिलो व्यक्ति धीरशमशेरका छोरा खड्गशमशेर हुन् । तर, इन्ट्रान्समै उनी फेल भएछन् ।

तैपनि राणा सरकारले उनलाई तक्मा दिएर सम्मान गरेछ । राणा परिवारमा म्याट्रिकुलेशनको इन्ट्रान्स पास गर्ने पहिलो व्यक्ति चन्द्रशमशेर रहेछन् ।

वि.सं. १९८५ मा काठमाडौंमै ‘म्याट्रिकुलेशन परीक्षा केन्द्र’ खुल्यो र पटना विश्वविद्यालय मातहत यहीं परीक्षा सञ्चालन हुन थालेपछि भारत जानुपर्ने बाध्यता अन्त्य भयो । वि.सं. १९९० मा नेपालमा एसएलसी परीक्षा बोर्ड गठन गर्‍यो, तर परीक्षासम्बन्धी सबै प्रक्रिया नेपाल सरकारका लागि पटना विश्वविद्यालयले नै जारी राख्यो ।

९० सालमा दरबार हाईस्कूल नजिकैको भवनमा पुस अन्तिम सातादेखि प्रवेशिका परीक्षा हुन थाल्यो । तर, परीक्षा चलिरहँदा २ माघमा आएको विनाशकारी भूकम्पका कारण बीचैमा स्थगित भएछ । यसपछि बाँकी परीक्षा १९९१ जेठमा सदर टुँडिखेलको खुला मैदानमा गरिएछ । सो परीक्षामा भक्तपुरका पुष्पभक्त मल्ल प्रथम श्रेणीमा उत्तीर्ण भएछन् । पछि उनी केन्द्रीय तथ्याङ्क विभागका डाइरेक्टरसम्म भए ।

२००३ सालदेखि नेपाल सरकार आफैंले प्रवेशिका परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएपछि पटना विश्वविद्यालयको मातहत परीक्षा हुने व्यवस्था तोडियो ।

प्रतिकृया दिनुहोस