निगमको बोइङ १ माघदेखि नियमित उडानमा
‘गण्डकी’ नामाकरण गरिएको नेपाल वायु सेवा निगमको बोइङ-७५७ विमानले १ माघदेखि नियमित उडान गर्दैछ।
९एन-एसीबी कलसाइनको विमानको इन्जिनको ‘थर्मल ब्ल्यांकेट’मा समस्या देखिएपछि गत मंसीर पहिलो साता मलेसिया लगिएको थियो। मर्मत सकिएर विमान ३० पुसमा काठमाडौं उत्रिने तय भएको निगमले जनाएको छ। ‘९एन-एसीए’ कलसाइनको विमान बिक्री गरिएपछि निगमसँग अहिले बोइङको एक मात्र विमान बाँकी छ।
इन्जिनको आयु ५ हजार ९ सय घण्टा मात्र बाँकी रहेकाले डेढ महीनापछि सीचेक अर्थात् ओभरहल (पूरै जाँचपछि मर्मत) का लागि उक्त विमान सिंगापुर पठाउने योजनामा निगम छ। हरेक २ वर्षमा विमानको सीचेक गराउनुपर्छ। सीचेकको लागतबारे अध्ययन भइरहेको निगमका प्रवक्ता नवराज कोइरालाले बताए।