शेयर बजार साताभर स्थिर
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता स्थिर रह्यो। साताको पहिलो दिन २२ पुसमा केही घटे पनि त्यसपछिका दिनमा नेप्से उकालो लागेपछि साप्ताहिक व्यापारमा परिसूचक २ अंकको साँघुरो वृद्धिमै समेटियो।
गत साता ११७८ अंकमा बन्द भएको शेयर बजार यो साता ११८० अंकमा बन्द भयो। अघिल्लो साता करीब ५९ प्रतिशत घटेको कारोबार रकम यो साता भने साढे ४ प्रतिशत बढेको छ। व्यापार रकम ५ प्रतिशतभन्दा कम हुनुलाई स्थिर अवस्था मान्न सकिन्छ।
साताभर नेप्से सूचकांक ११७० देखि ११८० बीच १० अंकको साँघुरो उतारचढावमा रह्यो। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामै रहेकाले पटक-पटकको प्रयासपछि पनि नेप्से परिसूचक बढ्न नसकिरहेको देखिन्छ। आधारभूत पक्षमा थुप्रै सुधार भएको र लगानीकर्ताका नीतिगत मागहरू सम्बोधन भइसकेकाले बजार बढ्ने अपेक्षा हुँदाहुँदै पनि वित्तीय प्रणालीमा तरलता कम भएको, कम्पनीहरूको प्रतिफल दर केही वर्षयता घटेको जस्ता कारणले शेयर बजारलाई उकालो लाग्न मद्दत पुगेको छैन।
साताभरको नेप्से कारोबार हेर्ने हो भने वाणिज्य ब्यांकमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। रु. ३४ करोड ६३ लाखको शेयर व्यापार भएको नेपाल ब्यांक यो साताको सर्वाधिक आकर्षक कम्पनी बन्यो। एनसीसी र प्रभु ब्यांकको शेयर पनि धेरै कारोबार हुने सूचीमा अघिल्लो पंक्तिमै परे।
शेयरको बजारका ठूला कम्पनीको सूचीमा भने नेपाल टेलिकम सधैं अगाडि छ। त्यसपछि नेपाल इन्भेष्टमेण्ट ब्यांक, नबिल ब्यांक र स्ट्याण्डर्ड चार्टर्ड ब्यांक सबैभन्दा बढी मूल्यका कम्पनी हुन्। बीमा कम्पनीहरूमध्ये सबैभन्दा राम्रो साख नेपाल लाइफ इन्स्योरेन्सले प्राप्त गरेको छ। नेपाल लाइफको पूँजीकरण अर्थात् शेयर बजारमा कम्पनीको मूल्य रु. ४८ अर्ब ३२ करोड २२ लाख पुगेको छ।